काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको तत्काल उद्धार, राहत र सुरक्षित पुनर्स्थापनाका लागि सरकारसँग आग्रह गरेका छन्।

आइतबार अपिल जारी गर्दै अध्यक्ष दाहालले बाढीबाट भएको भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै बेपत्ताको खोजी तथा प्रभावितको उद्धारलाई प्राथमिकता दिन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन्।

उनले जोखिममा रहेका नागरिकको सुरक्षालाई पहिलो प्राथमिकतामा राखी आवश्यक राहत सामग्री र सेवा सहज रूपमा उपलब्ध गराउन सरकारसँग आग्रह गरेका छन्।

बूढीगण्डकीदेखि त्रिशूली नदी किनारसम्मका नागरिकलाई उच्च सतर्कता अपनाउन र सुरक्षित रहन पनि अध्यक्ष दाहालले अनुरोध गरेका छन्। विपद्को सामना गर्न सबै पक्षबीच समन्वय र सहकार्य आवश्यक रहेको उनको भनाइ छ।

गोरखाको चुमनुब्री, धार्चे र आरुघाटलगायत क्षेत्रमा कालो लेदोसहित आएको बाढीले पक्की पुल, झोलुङ्गे पुल, घर तथा बजार क्षेत्रमा क्षति पुर्‍याएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय