काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृङ्खलाको पहिलो खेलमा नेपालले क्यानडालाई २४ रनले पराजित गरेको छ।

ओमान क्रिकेट एकेडेमीमा नेपालले दिएको २३६ रनको लक्ष्य पछ्याएको क्यानडा ४८.४ ओभरमा २११ रनमा समेटियो।

क्यानडाका लागि आरोन जोनसनले सर्वाधिक ४४ रन बनाए भने समित गोहेलले ३५, अखिल कुमारले अविजित ३० तथा श्रेयस मोभा र कप्तान हम्जा तारिकले समान २६ रन जोडे।

नेपालका करण केसी, ललित राजवंशी, सन्दीप लामिछाने र नन्दन यादवले समान दुई विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले रोहित पौडेलको शतकको मद्दतमा ५० ओभरमा सबै विकेट गुमाएर २३५ रन बनाएको थियो। रोहितले १२७ बलमा आठ चौका र एक छक्कासहित १०१ रन बनाए। गुल्शन झाले ४८ र अर्जुन कुमालले २३ रन जोडे।

क्यानडाका अखिल कुमारले चार, सुख्जिन्दर सिंहले तीन र जहिर शिर्जादले दुई विकेट लिए।

यस जितसँगै नेपाल ३३ खेलबाट २६ अंक जोड्दै लिग–२ को तालिकामा छैटौँ स्थानमा उक्लिएको छ। ३४ खेलबाट २५ अंक रहेको क्यानडा सातौँ स्थानमा झरेको छ।

यसअघि शृङ्खलाको पहिलो खेलमा ओमानसँग पराजित भएको क्यानडामाथि नेपालको जितले अंकतालिकामा सुधार ल्याएको छ। यद्यपि, लिग–२ को शीर्ष चारमा पुग्ने नेपालको सम्भावना समाप्त भइसकेकाले अब टोलीको मुख्य लक्ष्य ओडीआई मान्यता जोगाउनु हुनेछ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय