काठमाडौँ । जिबुटीको तटीय क्षेत्रमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना हुँदा १५ बालबालिकासहित कम्तीमा १०९ जनाको मृत्यु भएको छ । दुर्घटनामा ११६ जना बेपत्ता भएका छन् भने ८० भन्दा बढी व्यक्ति बाँच्न सफल भएका छन् ।
संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले आइतबार दुर्घटनाबारे जानकारी दिँदै मृतकको सङ्ख्या पुष्टि गरेको हो ।
आईओएमका अनुसार अक्टोबर ८ र ९ को मध्यरातमा जिबुटीबाट यमनतर्फ करिब ३५० जना बोकेर गइरहेको डुङ्गा ओबोक सहरको उत्तरतर्फ दुर्घटनाग्रस्त भई पल्टिएको थियो ।
दुर्घटनामा मृत्यु हुनेमा ५२ पुरुष, ४२ महिला र १५ बालबालिका छन् । मृत बालबालिकामध्ये नौ बालिका र छ बालक रहेका छन् । दुर्घटनाबाट जोगिएका ८० भन्दा बढी व्यक्ति सबै इथियोपियाली नागरिक रहेको आईओएमले जनाएको छ ।
जिबुटीस्थित आईओएमका मिसन प्रमुख अलेक्जेन्डर कोइसेकले घटनालाई ठूलो मानवीय क्षति भन्दै मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका छन् । उनले आफन्तको अवस्थाबारे जानकारी पाउन नसकेका परिवारको पीडाप्रति पनि दुःख व्यक्त गरेका छन् ।
आईओएमका टोली उद्धार तथा आपत्कालीन सहायता उपलब्ध गराउन जिबुटीका अधिकारीसँग समन्वय गरी घटनास्थलमा खटिएको जनाइएको छ ।
यस दुर्घटनाले आर्थिक अवसरको खोजीमा बाब–अल–मन्देब जलमार्ग पार गर्दै यमन हुँदै खाडी मुलुक पुग्ने प्रयास गर्ने आप्रवासीले सामना गर्नुपर्ने जोखिमलाई पुनः उजागर गरेको आईओएमले जनाएको छ ।
गरिबी, असुरक्षा र जलवायु परिवर्तनका बढ्दो प्रभावका कारण धेरै मानिस जोखिमपूर्ण समुद्री यात्रा गर्न बाध्य भइरहेको पनि सङ्गठनले उल्लेख गरेको छ । मध्यपूर्वमा बढ्दो अस्थिरताका बाबजुद आप्रवासीहरू सुरक्षित भविष्यको खोजीमा यस्तो जोखिमपूर्ण मार्ग अपनाइरहेको आईओएमको भनाइ छ ।








