भक्तपुर । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले बजारको मागअनुसार दक्ष जनशक्ति उत्पादन हुन नसक्नु देशको प्रमुख चुनौती भएको बताएका छन् ।
भक्तपुरको सूर्यविनायक नगरपालिका–४, दधिकोटमा स्थापना गरिएको ‘एभरेस्ट मल्टी स्किल’को आइतबार उद्घाटन गर्दै मन्त्री यादवले एकातर्फ युवाहरू बेरोजगारीको समस्यामा रहे पनि अर्कोतर्फ विभिन्न क्षेत्रमा दक्ष जनशक्तिको अभाव रहेको बताएका हुन् ।
उनले उद्योग, निर्माण, पर्यटन, कृषि, सूचना प्रविधि तथा सेवा क्षेत्रमा आवश्यक जनशक्ति उपलब्ध गराउन बजारको मागअनुसार सीपमूलक तालिम र जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताए ।
“बजारले खोजेको सीप र हामीले उत्पादन गरिरहेको जनशक्तिबीचको अन्तर नै अहिलेको प्रमुख चुनौती हो,” उनले भने ।
मन्त्री यादवले सीपमूलक तालिम सञ्चालन गर्ने निजी संस्थाहरूले दक्ष जनशक्ति उत्पादनमा सरकारलाई सहयोग गरिरहेको उल्लेख गर्दै यस क्षेत्रमा निजी क्षेत्रको लगानीको प्रशंसा गरे । सरकारले पनि युवालाई सीपयुक्त र दक्ष बनाउने विषयलाई प्राथमिकतामा राखेको उनको भनाइ थियो ।
कार्यक्रममा भक्तपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य राजीव खत्रीले परम्परागत पेसा तथा व्यवसायमा संलग्न नागरिकको सीप परीक्षण गरी प्रमाणपत्र प्रदान गर्नुपर्नेमा जोड दिए ।
मध्यपुर थिमिका कुम्हाले समुदाय माटाका भाँडा बनाउने काममा दक्ष रहेको उल्लेख गर्दै उनले परम्परागत सीपको पहिचान, परीक्षण र प्रमाणीकरणमा राज्यले ढिलाइ गर्न नहुने बताए ।
सीपको प्रमाणीकरणले परम्परागत पेसामा संलग्न व्यक्तिको दक्षताको औपचारिक पहिचान हुनुका साथै उनीहरूको पेसागत अवसर विस्तार गर्न सहयोग पुग्ने उनको भनाइ थियो ।








