काठमाडौं । गोरखाको चुमनुब्री क्षेत्र हुँदै बग्ने बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावितको तत्काल खोजी, उद्धार र राहतका लागि राष्ट्रिय जेन्जी नागरिक अभियानले सरकारसँग माग गरेको छ।

अभियानले आइतबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी निकायमा पत्र बुझाउँदै बाढी प्रभावित क्षेत्रमा उद्धार कार्य तीव्र बनाउन आग्रह गरेको हो।

बाढीले दुईवटा मोटरेबल पुल र चारवटा झोलुङ्गे पुल बगाएको तथा कम्तीमा १० जना सम्पर्कविहीन भएको प्रारम्भिक विवरण सार्वजनिक भएपछि अभियानले खोजी तथा उद्धारमा ढिलाइ नगर्न सरकारको ध्यानाकर्षण गराएको जनाएको छ।

अभियानले प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका उद्धार टोली परिचालन गर्न तथा आवश्यकताअनुसार हेलिकप्टरमार्फत खोजी र उद्धार गर्न माग गरेको छ। साथै, घाइतेको उपचार, प्रभावितलाई तत्काल राहत र जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न पनि आग्रह गरेको छ।

यसअघि भोटेकोसी क्षेत्रमा उद्धार तथा राहत कार्यमा भएको ढिलाइबाट पाठ सिक्दै बूढीगण्डकीमा त्यस्तो कमजोरी दोहोरिन नदिन अभियानले सरकारलाई सचेत गराएको छ।

नागरिकको जीवन रक्षा पहिलो प्राथमिकता हुनुपर्ने उल्लेख गर्दै अभियानले प्रभावितको खोजी, जोखिममा रहेका बस्तीको सुरक्षा तथा घटनासम्बन्धी विश्वसनीय सूचना समयमै प्रवाह गर्न सम्बन्धित निकायसँग माग गरेको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय