काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी तथा राज्यका विभिन्न क्षेत्रमा पुस्तान्तरण स्वाभाविक प्रक्रिया भए पनि त्यसका लागि निश्चित विधि, पद्धति र तयारी आवश्यक हुने बताएका छन् ।
आइतबार पार्टीको ‘मिसन पार्टी जागरण अभियान’ तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले नयाँ पुस्तालाई नेतृत्वका लागि योग्य बनाउन तालिम, अनुभव र क्षमता विकासमा जोड दिएका हुन् ।
उनले पुस्तान्तरणको नाममा समाजमा नयाँ विवाद र विभाजन सिर्जना गर्न खोजिएको आरोपसमेत लगाए । विगतमा जात, धर्म र भूगोलका आधारमा जनतालाई विभाजित गर्न खोजिएको उल्लेख गर्दै उनले अहिले पुस्ताबीच द्वन्द्व सिर्जना गर्ने प्रयास भइरहेको दाबी गरे ।
“हस्तान्तरण र पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो । तर, एकैचोटि प्राध्यापक भइँदैन, लेक्चररबाट सुरु गर्नुपर्छ,” ओलीले भने, “नयाँ पुस्तालाई योग्य र दक्ष बनाएर क्रमशः जिम्मेवारी दिँदै लैजानुपर्छ ।”
आफ्नो राजनीतिक अनुभव स्मरण गर्दै ओलीले विगतको राजनीतिक परिस्थिति र अहिलेको अवस्थालाई एउटै रूपमा हेर्न नमिल्ने बताए । पुष्पलाल, सीपी मैनाली र आफूले कम उमेरमै राजनीतिक नेतृत्व सम्हालेको प्रसङ्ग उल्लेख गर्दै उनले त्यतिबेला आन्दोलनको अवस्था रहेको र अहिले युवाले सिकाइ तथा क्षमता विकासमा ध्यान दिनुपर्ने धारणा राखे ।
उनले युवा नेतृत्वको चर्चा मात्र गरेर नहुने भन्दै समाज सञ्चालनमा सबै उमेर समूहको भूमिका महत्त्वपूर्ण हुने बताए ।
शारीरिक तथा मानसिक क्षमताका कारण जिम्मेवारी निर्वाह गर्न कठिन हुने अवस्था आएपछि नेतृत्वले स्वेच्छाले जिम्मेवारी हस्तान्तरण गर्नुपर्ने पनि ओलीको भनाइ थियो ।
पार्टीभित्र अहिले बलियो एकता आवश्यक रहेको उल्लेख गर्दै उनले पुस्तान्तरणलगायतका विषयमा अनावश्यक विवादमा नअल्झिन नेता तथा कार्यकर्तालाई आग्रह गरे । एउटा निर्वाचनमा पराजित हुँदैमा पार्टी कमजोर नहुने दाबी गर्दै ओलीले उच्च मनोबलका साथ पार्टीको जागरण अभियानमा सक्रिय हुन कार्यकर्तालाई निर्देशन दिए ।








