काठमाडौं । अस्ट्रेलियाको दक्षिण अस्ट्रेलिया राज्यमा प्रहरी अधिकारीमाथि हुने आक्रमणका घटनामा २५ प्रतिशतले वृद्धि भएको छ। तर, लुटपाट तथा हत्यासम्बन्धी अपराधका घटनामा भने कमी आएको सरकारी तथ्यांकले देखाएको छ।
दक्षिण अस्ट्रेलिया प्रहरीले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार, सन् २०२६ को अगस्टमा समाप्त भएको १२ महिनाको अवधिमा ड्युटीमा खटिएका प्रहरी अधिकारीमाथि आक्रमणका घटना ६३५ बाट बढेर ७९३ पुगेका छन्। प्रहरीमाथि आक्रमण बढेको यो लगातार १२औँ अवधि हो।
यस अवधिमा लुटपाटका घटनामा १३ प्रतिशतले कमी आएको छ। अघिल्लो अवधिमा ५०१ वटा रहेका लुटपाटका घटना घटेर ४३८ मा झरेका छन्। त्यस्तै, हत्या तथा हत्यासम्बन्धी अपराध २१ प्रतिशतले घटेर ५३ बाट ४२ मा सीमित भएका छन्।
खुद्रा पसल तथा व्यापारिक प्रतिष्ठानमा हुने चोरीका घटनामा पनि तीन प्रतिशतले कमी आएको छ। यस्ता घटना २१ हजार ७५७ मा झरेका छन्।
यद्यपि, आवासीय तथा गैरआवासीय क्षेत्रमा हुने चोरीका घटनामा वृद्धि देखिएको छ। घरमा अनधिकृत प्रवेश गरी चोरी गर्ने घटना ५ हजार ५८४ बाट बढेर ५ हजार ९४७ पुगेका छन्। गैरआवासीय भवन तथा परिसरमा हुने चोरीका घटना पनि ३ हजार ३९१ बाट बढेर ३ हजार ५१३ पुगेका छन्।
त्यसैगरी, यौनजन्य अपराधका घटना २ हजार ७०४ बाट बढेर २ हजार ७१८ पुगेका छन्।
दक्षिण अस्ट्रेलिया प्रहरीका सहायक आयुक्त डेभिड ओ’डोनोभानले दोहोर्याएर अपराध गर्ने व्यक्तिलाई लक्षित गरी सञ्चालन गरिएका प्रहरी कारबाहीले लुटपाटका घटना घटाउन सहयोग पुगेको बताएका छन्। अपराधमा संलग्न व्यक्तिलाई हिरासतमा राख्ने व्यवस्था र कडा धरौटी सर्तले पनि अपराध नियन्त्रणमा सकारात्मक प्रभाव पारेको उनको भनाइ छ।
लुटपाटबाट पीडित हुने व्यक्तिले भोग्ने मानसिक तथा भावनात्मक असरप्रति प्रहरी संवेदनशील रहेको उल्लेख गर्दै उनले यस्ता अपराध न्यूनीकरणका लागि आगामी दिनमा पनि प्रयास जारी राखिने बताएका छन्।
समग्र तथ्यांकले दक्षिण अस्ट्रेलियामा केही अपराध घट्दै गए पनि प्रहरीमाथिको आक्रमण तथा आवासीय चोरीजस्ता घटनामा चुनौती कायम रहेको देखाएको छ।








