काठमाडौं । सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा दोषी ठहर भई जन्मकैदको सजाय पाएका मधेश प्रदेशसभा सदस्य अभिराम शर्माको निलम्बन फुकुवा भएको छ।
जसपा नेपालका नेता शर्मा तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट निर्वाचित सांसद हुन्। उनलाई मधेश प्रदेशसभाले २०८१ वैशाख १८ गते निलम्बन गरेको थियो।
उच्च अदालत हुँदै सर्वोच्च अदालतसम्म पुगेको मुद्दामा शर्माले सर्वोच्च अदालतबाट साधारण तारेखको सुविधा पाएपछि प्रदेशसभाले उनको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो।
मधेश प्रदेशसभाका सचिव बासुप्रसाद कोइरालाद्वारा जारी सूचनाअनुसार सभामुखले प्रदेशसभा नियमावली, २०८२ को नियम २१९ को उपनियम (५) बमोजिम २०८३ असोज २६ गतेदेखि लागू हुने गरी शर्माको निलम्बन फुकुवा गरेका हुन्।
सूचनामा सर्वोच्च अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १३७ (२) बमोजिमको सुविधाअन्तर्गत शर्मालाई साधारण तारेखमा राख्ने आदेश दिएको उल्लेख छ।
निलम्बन फुकुवासँगै शर्माको प्रदेशसभा सदस्यका रूपमा काम गर्ने बाटो खुलेको छ। यद्यपि, निलम्बन फुकुवा हुनु मुद्दाको अन्तिम फैसला वा दोषमुक्ति भएको अर्थमा भने बुझिँदैन।








