काठमाडौं । भारतको राजधानी नयाँदिल्लीमा विरोध प्रदर्शन तथा धर्ना आयोजना गर्न प्रयोग हुँदै आएको जन्तरमन्तरलाई तोकिएको प्रदर्शनस्थलको सूचीबाट हटाइएको छ। यसको विकल्पमा तीन स्थान तोकिएका छन्।
दिल्ली प्रहरी आयुक्त अनुराग कुमारले सोमबार जारी गरेको सूचनाअनुसार अब विरोध प्रदर्शन तथा धर्नाका लागि रामलीला मैदान, बुरारी मैदान र पूर्वी दिल्लीस्थित सीबीडी मैदानलाई विकल्पका रूपमा तोकिएको छ।
केन्द्रीय गृह मन्त्रालयले गठन गरेको समितिको सिफारिसका आधारमा उक्त निर्णय गरिएको सूचनामा उल्लेख छ। समितिलाई नागरिकको विरोध प्रदर्शन तथा धर्ना गर्न पाउने अधिकारलाई ध्यानमा राख्दै हाल तोकिएका प्रदर्शनस्थलका विकल्पबारे समीक्षा गर्ने जिम्मेवारी दिइएको थियो।
दिल्ली प्रहरीले यी तीनवटै स्थानमा प्रदर्शन तथा धर्ना आयोजना गर्ने प्रक्रियासम्बन्धी छुट्टाछुट्टै मानक सञ्चालन कार्यविधि (एसओपी) जारी गरिने जनाएको छ।
यस निर्णयसँगै नयाँदिल्लीमा विरोध प्रदर्शन तथा धर्नाका लागि प्रयोग गरिने तोकिएका स्थान र तिनको व्यवस्थापन प्रक्रियामा परिवर्तन हुने भएको छ।








