काठमाडौँ । पर्साको वीरगञ्ज महानगरपालिका–२२ स्थित जगन्नाथपुरमा खेतमा बेवारिसे अवस्थामा एकनाले बाह्रबोर बन्दुक फेला परेको छ।
पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईका अनुसार खेतमा बन्दुक फेला परेपछि प्रहरीले त्यसलाई बरामद गरेको हो। उक्त बन्दुक कसले र कुन प्रयोजनका लागि त्यहाँ छाडेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
२०८२ भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा सुरक्षाकर्मीका हतियार लुटिएका थिए। त्यसयता लुटिएका हतियारमध्ये केही विभिन्न स्थानमा फेला पर्ने गरेका छन्।
गृह मन्त्रालय स्रोतका अनुसार आन्दोलनका क्रममा लुटिएका ७२३ थानभन्दा बढी हतियार फिर्ता भइसकेका छन्। वीरगञ्जमा फेला परेको बन्दुक पनि लुटिएका हतियारमध्ये पर्छ वा पर्दैन भन्नेबारे भने प्रहरीले अनुसन्धान गरिरहेको छ।








