काठमाडौं । संयुक्त अधिराज्य (बेलायत) का लागि प्रस्तावित नेपाली राजदूत गौरवशमशेर जबराले नेपाल–बेलायत सम्बन्धलाई आर्थिक कूटनीति, व्यापार, लगानी र प्रविधि हस्तान्तरणमार्फत थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

सोमबार संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै पूर्वप्रधानसेनापति जबराले दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई समसामयिक आवश्यकता र नेपालको राष्ट्रिय हितअनुकूल विस्तार गर्ने बताएका हुन्।

जबराले आफूलाई पूर्वसैनिक नेतृत्वकर्ताका रूपमा मात्र नभई नेपाल सरकार र नेपाली जनताको प्रतिनिधिका रूपमा प्रस्तुत गरेका छन्। सन् १८१६ देखि कायम नेपाल–बेलायत कूटनीतिक सम्बन्धलाई नवीकरणीय ऊर्जा, शिक्षा र जलवायु परिवर्तनजस्ता क्षेत्रमा सहकार्य विस्तार गरेर नयाँ उचाइमा पुर्‍याउने उनको योजना छ।

आफ्नो कार्यकालका लागि जबराले पाँच प्रमुख प्राथमिकता अघि सारेका छन्। आर्थिक कूटनीतिअन्तर्गत बेलायती लगानी, प्रविधि र विशेषज्ञतालाई नेपालको विकाससँग जोड्ने, हरित अर्थतन्त्र तथा हिमाली जैविक विविधता र वातावरण संरक्षणमा साझेदारी बढाउने उनको योजना छ।

त्यसैगरी, बेलायतमा रहेका नेपाली समुदायलाई नेपालको विकासमा जोड्ने, संसदीय तथा सार्वजनिक कूटनीति विस्तार गर्ने र ब्रिटिस गोर्खा सैनिकसँग सम्बन्धित विषयलाई गम्भीरतापूर्वक सम्बोधन गर्ने विषयलाई पनि उनले प्राथमिकतामा राखेका छन्।

आफ्नो लामो सैनिक सेवाको अनुभवले बेलायतसँगको सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै जबराले संस्थागत निरन्तरता र नेपालको राष्ट्रिय हित प्रवर्द्धनलाई मुख्य ध्येय बनाउने बताए।

बेलायतसँगको गोर्खा सम्बन्धलाई विशेष महत्त्व दिएका उनले आफ्नो सैन्य पृष्ठभूमि तथा रोयल मिलिटरी एकेडेमीमा तालिम लिएको अनुभवले दुई देशबीचको सैन्य कूटनीतिलाई थप सहज बनाउन सक्ने धारणा व्यक्त गरेका छन्।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय