काठमाडौं । यातायात व्यवस्था विभागले नयाँ तथा पुराना सवारी साधनको दर्ता, नामसारी र बीमा प्रक्रियालाई सहज बनाउन नयाँ व्यवस्था लागू गरेको छ। संशोधित व्यवस्थाअनुसार अब सवारी साधनको दर्ता तथा नामसारीका लागि सवारीधनी स्वयं यातायात व्यवस्था कार्यालयमा उपस्थित हुनुपर्ने बाध्यता हटाइएको छ।
यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० का केही प्रावधान मन्त्रिस्तरबाट संशोधन गर्दै विभागले सेवाप्रवाहलाई सरल, सहज र प्रविधिमैत्री बनाउने व्यवस्था गरेको हो।
नयाँ व्यवस्थाअनुसार सवारी साधन बिक्री गर्ने डिलरले गरेको प्राविधिक जाँचलाई नै मान्यता दिइनेछ। यससँगै सवारी साधनलाई पुनः यातायात व्यवस्था कार्यालयमा भौतिक रूपमा उपस्थित गराएर जाँच गराउनुपर्ने झन्झट हट्ने विभागले जनाएको छ।
त्यस्तै, सवारी खरिदकर्ता स्वयं उपस्थित हुन नसकेमा वारेसनामा प्राप्त व्यक्तिमार्फत दर्ता तथा नामसारीको प्रक्रिया पूरा गर्न सकिनेछ। यसका लागि वारेसनामा प्राप्त व्यक्तिले आफ्नो सक्कल परिचयपत्र, खरिदकर्ताको फोटो र खरिदकर्ताको सक्कल परिचयपत्रसहित सम्बन्धित यातायात कार्यालयमा उपस्थित हुनुपर्नेछ।
सवारी साधनको बीमा गर्न वा बीमा नवीकरण गर्न पनि सवारीधनी स्वयं भौतिक रूपमा उपस्थित हुनुपर्ने छैन। यस व्यवस्थाले सेवाग्राहीको समय र झन्झट कम गर्ने अपेक्षा गरिएको छ।
विभागले नामसारी तथा बायोमेट्रिक प्रक्रियालाई थप व्यवस्थित बनाउन भिआरएस प्रणालीसँग आबद्ध गर्ने व्यवस्था पनि मिलाएको छ। यसका लागि सवारी विक्रेता, वितरक तथा कम्पनीहरूलाई एकद्वार पहुँचमार्फत बायोमेट्रिक विवरण संकलन गर्न सक्ने प्राविधिक सुविधा यातायात व्यवस्था कार्यालयले उपलब्ध गराउने जनाइएको छ।
नयाँ व्यवस्थाले सवारी दर्ता तथा नामसारी प्रक्रियामा हुने अनावश्यक झन्झट घटाउनुका साथै यातायात सेवा प्रवाहलाई थप सेवाग्राहीमैत्री बनाउने अपेक्षा गरिएको छ।








