विराटनगर । केरौन १३२/३३ केभी सबस्टेशन आयोजनाको उपकरण परीक्षण तथा सञ्चालनसम्बन्धी कामका कारण कोशी प्रदेशका पाँच जिल्लामा विद्युत आपूर्ति बन्द हुने भएको छ।
नेपाल विद्युत प्राधिकरणअन्तर्गत केरौन सबस्टेशन आयोजनाका अनुसार दुहबी–दमक १३२ केभी प्रसारण लाइनमा लुप–इन लुप–आउट (LILO) जडानको काम गर्नुपर्ने भएकाले विद्युत सेवा अवरुद्ध गर्न लागिएको हो।
प्राधिकरणले शनिबार र आइतबार बिहान ४ बजेदेखि दिउँसो १२ बजेसम्म विद्युत आपूर्ति बन्द गर्ने जनाएको छ।
उक्त अवधिमा झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका सम्पूर्ण क्षेत्रमा विद्युत सेवा प्रभावित हुनेछ। त्यस्तै, मोरङ जिल्लाको उर्लाबारी र पथरी आसपासका क्षेत्रमा समेत विद्युत आपूर्ति बन्द रहनेछ।
सबस्टेशनको उपकरण परीक्षण तथा सञ्चालनका लागि आवश्यक प्राविधिक काम सम्पन्न गर्न प्रसारण लाइन बन्द गर्न लागिएको प्राधिकरणले जनाएको छ।









