काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले विपद्का समयमा दूरसञ्चार सेवा निरन्तर सञ्चालन हुने व्यवस्था मिलाउन नेपाल टेलिकमलाई निर्देशन दिएका छन्।

भोटेकोशी बाढीका कारण अवरुद्ध दूरसञ्चार सेवा छिटो पुनः सञ्चालन गर्न योगदान पुर्‍याउने कर्मचारीलाई सम्मान गर्न आयोजित कार्यक्रममा सोमबार बोल्दै मन्त्री तिमिल्सिनाले विपद् व्यवस्थापनमा सञ्चार सेवाको भूमिका महत्त्वपूर्ण हुने बताए।

विपद्का बेला केही सेकेन्डअघि सूचना प्राप्त गर्न सके पनि धेरैको ज्यान जोगिन सक्ने उल्लेख गर्दै उनले टेलिकमलाई सधैँ तयारी अवस्थामा रहन आग्रह गरे।

बाढी प्रभावित क्षेत्रमा विभिन्न सरोकारवाला निकायबीचको सहकार्य र समन्वयका कारण दूरसञ्चार सेवा छिटो पुनःस्थापना गर्न सम्भव भएको उनले बताए। टेलिकमका कर्मचारीले तोकिएको जिम्मेवारीभन्दा बढी समय र मेहनत लगाएर काम गरेको तथा ऊर्जा मन्त्रालयले पनि विद्युत् संरचना पुनर्निर्माणमा तीव्रता दिएकाले सेवा सञ्चालन सहज भएको उनको भनाइ थियो।

मन्त्री तिमिल्सिनाले नागरिकले नेपाल टेलिकमबाट उच्च अपेक्षा राखेको भन्दै सेवाको गुणस्तर र गति निजी क्षेत्रका कम्पनीसरह प्रतिस्पर्धी बनाउनुपर्नेमा जोड दिए। कर्मचारीको व्यवहार र अभिव्यक्तिले संस्थाको छविमा प्रभाव पार्ने भएकाले सेवाग्राहीप्रति जिम्मेवार हुन पनि उनले निर्देशन दिए।

प्रविधिमा भइरहेको तीव्र विकासअनुसार टेलिकमले आफूलाई परिमार्जन गर्दै जनमुखी सेवा विस्तार गर्नुपर्ने उनको भनाइ थियो। संस्थागत सुशासन र सबलीकरणमार्फत नागरिकको विश्वास जित्ने कम्पनीका रूपमा टेलिकमलाई विकास गर्नुपर्ने उनले बताए।

कार्यक्रममा टेलिकमकी प्रबन्ध निर्देशक सङ्गीता पहाडी अर्यालले यसअघि वार्षिकोत्सवका अवसरमा उत्कृष्ट कर्मचारीलाई सम्मान गर्ने गरिएको भए पनि यसपटक भोटेकोशी बाढीपछि सेवा पुनःस्थापनामा विशेष योगदान पुर्‍याउने कर्मचारीलाई सम्मान गरिएको जानकारी दिइन्।

मन्त्रालयका सचिव तथा टेलिकम सञ्चालक समितिका अध्यक्ष राजेन्द्रकुमार पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा वायरलेस निर्देशनालयका निर्देशक कृष्णप्रसाद भण्डारी तथा सम्मानित कर्मचारीमध्येका इन्जिनियर निशान्त नेपाललगायतले विपद्का समयमा सेवा पुनःसञ्चालन गर्दाका अनुभव सुनाएका थिए।

यसअघि मन्त्री तिमिल्सिनाले बबरमहलस्थित नवनिर्मित हुलाक प्रशिक्षण केन्द्रको भवन निरीक्षण गरेका थिए। निरीक्षणका क्रममा हुलाक सेवा विभागका महानिर्देशक र केन्द्रका कार्यालय प्रमुखले भवनबारे जानकारी गराएका थिए।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय