कर्णाली । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न तयारीलाई तीव्रता दिइएको बताएका छन्।

प्रतियोगिता सुरु हुन ३० दिन बाँकी रहेको अवसरमा आयोजित काउन्टडाउन कार्यक्रमको सुरुवात गर्दै मन्त्री पोखरेलले आवश्यक पूर्वाधार निर्माण, जनशक्ति व्यवस्थापन र स्रोत परिचालनका काम अघि बढिरहेको जानकारी दिए।

उनका अनुसार संघीय सरकार, कर्णाली प्रदेश सरकार, खेलकुदसम्बद्ध संघसंस्था तथा वीरेन्द्रनगर नगरपालिकाबीचको समन्वय र सहकार्यमा प्रतियोगिताको तयारी भइरहेको छ।

मन्त्री पोखरेलले राष्ट्रिय खेलकुद प्रतियोगिता भव्य रूपमा सम्पन्न गर्नु सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै तीनै तहका सरकार र सम्बन्धित निकायलाई आफ्नो भूमिका प्रभावकारी रूपमा निर्वाह गर्न आग्रह गरे। उनले अब प्रतियोगिताको प्रचारप्रसारलाई समेत व्यापक बनाइने बताए।

कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता प्रदेशको प्रतिष्ठासँग जोडिएको विषय भएको बताए। रङ्गशालाको पूर्वाधार निर्माणको काम पूरा भएको उल्लेख गर्दै उनले मङ्सिर १६ देखि २७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि खेलाडी तथा पाहुनाको बसोबास र आवश्यक व्यवस्थापनमा प्रदेश सरकार जुटिरहेको जानकारी दिए।

प्रदेशका सामाजिक विकासमन्त्री जीतबहादुर मल्लले प्रतियोगिता सफल बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहत्ताले प्रतियोगितालाई देशव्यापी रूपमा प्रचारप्रसार गरी भव्य रूपमा सम्पन्न गर्ने तयारी भइरहेको बताए।

कार्यक्रममा कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य रवीन्द्र चन्दले कर्णालीको खेलकुद गीत सार्वजनिक गर्दै एक साताभित्र रङ्गशालाका संरचना हस्तान्तरण गरिने जानकारी दिए।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय