खोटाङ । खोटाङका दुई सामुदायिक वन क्षेत्रमा ठूलो सङ्ख्यामा साल (सखुवा) का रुख अवैध रूपमा काटिएको पाइएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका खाल्ले र लफ्याङस्थित सामुदायिक वनमा करिब १०० वटा सालका रुख ढालिएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ।

नगरपालिकाको वडा नं. ४ खाल्लेस्थित चन्द्रमान सामुदायिक वन र वडा नं. ५ लफ्याङस्थित देउले सामुदायिक वन क्षेत्रमा रुख कटान भएको हो। चन्द्रमान सामुदायिक वन क्षेत्रमा मात्रै करिब ३० वटा सालका रुख काटिएको पाइएको छ।

चन्द्रमान सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष एकराज पौडेलले वन क्षेत्रमा रुख काटेर गोलिया बनाइएको अवस्थामा भेटिएको जानकारी दिए। उनका अनुसार कसले र कुन उद्देश्यले रुख काटेको हो भन्ने विषय अझै खुलेको छैन। काटिएका काठ वन क्षेत्रमै छाडिएको अवस्थामा छन्।

घटनामा संलग्न व्यक्ति वा समूहको पहिचान गरी कानुनी कारबाही अघि बढाउन उपभोक्ता समितिले पहल थालेको छ। घटनाको वास्तविकता पत्ता लगाउन चन्द्रमान सामुदायिक वन उपभोक्ता समितिले पाँच सदस्यीय अनुगमन टोलीसमेत गठन गरेको छ।

स्थानीय गोपाल श्रेष्ठले सामुदायिक वनमा ठूलो सङ्ख्यामा रुख काटिँदासमेत प्रभावकारी निगरानी हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

सव–डिभिजन वन कार्यालय दिक्तेलका वन अधिकृत सरोज घिमिरेले घटनास्थलको निरीक्षण गरी काटिएका रुखबाट भएको क्षतिको विवरण सङ्कलन गरिने बताएका छन्। उनका अनुसार कटानमा संलग्न व्यक्तिको पहिचान भएपछि प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ।

वन अधिकृत घिमिरेका अनुसार वाइछा दोभान क्षेत्रमा निजी जग्गा र सामुदायिक वनको सिमाना स्पष्ट नभएकाले नापी टोलीको सहयोगमा क्षेत्रको सीमा छुट्याउने तयारी छ। सिमाना यकिन भएपछि रुख काटिएको स्थानको वास्तविक अवस्था पहिचान गरी थप अनुसन्धान गरिनेछ।

स्थानीयले भने काठ तस्करी गर्ने उद्देश्यले सालका रुख काटिएको हुन सक्ने आशंका गरेका छन्। तर, कटानमा संलग्न व्यक्ति तथा समूहको पहिचान भइसकेको छैन।

सालका रुखको अवैध कटानले सामुदायिक वनको संरक्षण र निगरानी प्रणालीमाथि प्रश्न उठाएको छ। वन क्षेत्रमा भएको क्षतिको यकिन विवरण र घटनाको जिम्मेवार पक्ष पहिचान गर्न सम्बन्धित निकायले अनुसन्धान अघि बढाउनुपर्ने देखिएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय