रुपन्देही । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा देउवा पक्षका लुम्बिनी प्रदेश संयोजक गेहेन्द्र गिरीले स्थानीय तहको निर्वाचनअघि पार्टीभित्रको विवाद समाधान हुन नसके कांग्रेस विभाजनको अवस्थामा पुग्न सक्ने बताएका छन्।
नेपाली कांग्रेस दाङको जिल्ला अधिवेशन उद्घाटन गर्दै नेता गिरीले पार्टीभित्र देखिएको विवाद समयमै अन्त्य गर्नुपर्नेमा जोड दिएका हुन्।
उनले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले देउवा पक्षकै पक्षमा निर्णय दिने विश्वाससमेत व्यक्त गरे। अन्तिममा पार्टीको आधिकारिकता देउवा पक्षले नै पाउने उनको दाबी थियो।
कांग्रेसको विशेष महाधिवेशन र पार्टीको आधिकारिकता प्राप्तिका लागि भइरहेका गतिविधि सञ्चारमाध्यममा सार्वजनिक भइरहेको उल्लेख गर्दै गिरीले पार्टीभित्रको पछिल्लो राजनीतिक अवस्थाबारे आफ्नो धारणा राखेका थिए।
स्थानीय तहको निर्वाचनअघि नै आन्तरिक विवाद समाधान गर्न नसकिए त्यसले पार्टीको एकतामाथि गम्भीर असर पार्न सक्ने उनको चेतावनी छ।








