ब्राजिलको चर्चित फुटबल क्लब कोरिन्थियन्सको आधिकारिक वेबसाइट ह्याकरहरूले नियन्त्रणमा लिएर अर्जेन्टिनी फुटबल स्टार लियोनेल मेस्सीलाई सन् २०२७ का लागि क्लबमा अनुबन्ध गरेको झुटो घोषणा गरेका छन् ।
शनिबार बिहान भएको साइबर आक्रमणपछि ह्याकरहरूले वेबसाइटमा लामो वक्तव्य प्रकाशित गर्दै अमेरिकी क्लब इन्टर मियामीबाट खेलिरहेका मेस्सी कोरिन्थियन्समा आबद्ध भएको दाबी गरेका थिए ।
उनीहरूले मेस्सीलाई क्लबको मुख्य खेलाडीका रूपमा भित्र्याउन सफल भएको भन्दै कथित सम्झौताका वित्तीय विवरणसमेत सार्वजनिक गरेका थिए । वेबसाइटमा मेस्सीको नाममा एउटा भनाइसमेत राखिएको थियो, जसमा उनले ‘ब्राजिलियन फुटबलमा खेल्ने अवसर पाउँदा खुसी लागेको’ बताएका थिए ।
ह्याकरहरूको उक्त घोषणाले क्लबका केही समर्थकलाई आश्चर्यमा पारेको थियो । तर, वेबसाइटमा अनधिकृत प्रवेश भएको थाहा पाएपछि क्लबले उक्त सामग्री हटाएको थियो । त्यसपछि वेबसाइटमा प्राविधिक सुधार भइरहेको सूचना राखिएको थियो ।
कोरिन्थियन्सले आफ्नो आधिकारिक वेबसाइटमा साइबर आक्रमण भएको पुष्टि गरेको छ । क्लबका अनुसार सूचना प्रविधि टोलीले छिट्टै आक्रमण नियन्त्रणमा लिन सफल भएको थियो ।
क्लबले जारी गरेको वक्तव्यमा आर्थिक क्षति भएको वा संस्थासँग सम्बन्धित तथ्यांक तथा सूचनामा अनधिकृत पहुँच पुगेको प्रमाण नभेटिएको जनाएको छ । सुरक्षात्मक उपायस्वरूप क्लबले आफ्ना डिजिटल प्लेटफर्महरूको सुरक्षा प्रणाली थप मजबुत बनाउने निर्णय गरेको छ । प्राविधिक परीक्षण पूरा गर्न क्लबको आधिकारिक वेबसाइट र उसको घरेलु मैदान निओ क्विमिका एरेनाको वेबसाइटसमेत अस्थायी रूपमा बन्द गरिएको थियो ।
कोरिन्थियन्सको वेबसाइटमाथिको आक्रमण ब्राजिलकै अर्को चर्चित क्लब पाल्मेइरासको वेबसाइट ह्याक भएको केही दिनपछि भएको हो । त्यसबेला ह्याकरहरूले पाल्मेइरासको वेबसाइटमा क्लबले अहिलेसम्म विश्व उपाधि जित्न नसकेको भन्दै व्यङ्ग्यात्मक सन्देश राखेका थिए ।
ब्राजिलका दुई लोकप्रिय फुटबल क्लबका आधिकारिक वेबसाइटमा लगातार भएका साइबर आक्रमणले खेलकुद संस्थाहरूको डिजिटल सुरक्षामाथि प्रश्न उठाएको छ ।








