काठमाडौँ । नेपाल प्रहरीले सोमबार बिहान ७ बजेसम्मको राजमार्ग अवरोधसम्बन्धी सार्वजनिक गरेको विवरण अनुसार बाढी, पहिरो र निर्माण कार्यका कारण देशका विभिन्न मुख्य राजमार्ग प्रभावित भएका छन्।
बागमती प्रदेशअन्तर्गत काभ्रेपलाञ्चोकको बीपी राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएको छ। रोशी गाउँपालिकाको वडा नम्बर ९ स्थित पिनथली र वडा नम्बर ८ स्थित गिम्दिबेसीमा कात्तिक १४ गते बिहान ४:५५ बजे पहिरो खसेको थियो। हाल पहिरो पन्छाएर उक्त सडक एकतर्फी खुला गरिएको छ।
त्यस्तै बागमती प्रदेशकै पृथ्वी राजमार्ग भने पूर्ण रूपमा अवरुद्ध छ। बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर ९ भालुवाटारमा पुल निर्माण तथा सडक स्तरोन्नति गर्नुपर्ने कारणले बाटो बन्द गरिएको हो। प्रहरीको विवरणमा उल्लेख भएअनुसार, ‘२०८२ कात्तिक १६ गते सोमबार दिनको ११ बजेदेखि सोही दिनको २ बजेसम्म उक्त सडक खण्ड पूर्ण रूपमा बन्द हुनेछ।
गण्डकी प्रदेशअन्तर्गत गोरखा जिल्लामा बाढीका कारण आवागमन पूर्ण रूपमा ठप्प छ। आरुघाट गाउँपालिकाको वडा नम्बर २ र ३ स्थित सोतिदेखि मान्बु जाने पुल गत असोज २५ गते बिहान ५:३० बजेदेखि बन्द छ। बाढीले क्षति पुर्याएका कारण यहाँ यातायात पूर्ण रूपमा अवरुद्ध भएको हो।
लुम्बिनी र कर्णाली प्रदेशका राजमार्ग पनि पहिरोको चपेटामा परेका छन्। लुम्बिनी प्रदेशको अर्घाखाँचीस्थित सन्धिखर्क–गोरुसिङ्गे सडकखण्ड एकतर्फी सुचारु छ। सन्धिखर्क नगरपालिकाको वडा नम्बर ६ नरपानीमा कात्तिक १५ गते बिहान ४:१५ बजे पहिरो गएको थियो। यसैगरी कर्णाली प्रदेशको सुर्खेतस्थित कर्णाली राजमार्ग पनि एकतर्फी रूपमा मात्र खुलेको छ।
बराहताल गाउँपालिकाको वडा नम्बर ७ औलिसेमा कात्तिक १४ गते बिहान ५:५५ बजे पहिरो खसेको थियो। यी क्षेत्रमा हाल एकतर्फी रूपमा मात्र सवारी साधन सञ्चालन भइरहेका छन्।









