महोत्तरी । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई मतदान गरेका मतदाताले आफ्नो निर्णयप्रति पुनर्विचार गर्न थालेको दाबी गरेका छन् ।
महोत्तरीको बर्दिबासमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले वर्तमान सरकारको कार्यशैलीप्रति जनताको असन्तुष्टि बढ्दै गएको बताए । उनले सरकारमाथि अलोकतान्त्रिक गतिविधिमा संलग्न भएको आरोपसमेत लगाए ।
प्रचण्डले बौद्धिक समुदायले सरकारको कार्यशैलीबारे धारणा बनाइसकेको उल्लेख गर्दै अब गाउँगाउँसम्म पुगेर जनतालाई यसबारे जानकारी गराउने बताए ।
उनका अनुसार पार्टीले सञ्चालन गर्ने जागरण अभियानमार्फत सरकारका गतिविधिबारे जनतालाई सचेत गराइनेछ । आवश्यक परिस्थिति बने सरकारविरुद्ध आन्दोलनमा उत्रने तयारीसमेत भइरहेको उनले जानकारी दिए ।
त्यसैगरी, मधेस प्रदेश सरकारको स्थायित्वका विषयमा लोकतान्त्रिक गणतन्त्रका पक्षधर दलहरूसँग छलफल भइरहेको प्रचण्डले बताए । यसबारे चाँडै निष्कर्षमा पुग्ने उनको भनाइ छ ।








