विराटनगर । विराटनगरस्थित बालसुधार गृहमा प्रतिबन्धित लागुऔषध गाँजा र मोबाइल फोन फेला परेपछि त्यहाँको सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको छ। क्षमताभन्दा झन्डै चार गुणा बढी बालबिज्याइँकर्ता राखिएको सुधार गृहमा प्रहरीको निगरानी हुँदाहुँदै निषेधित सामग्री भेटिनुले सुरक्षा जाँचको प्रभावकारितामाथि चिन्ता बढाएको छ।
विराटनगर महानगरपालिका–३ स्थित बालसुधार गृहमा सोमबार प्रहरीले गरेको खोजतलासका क्रममा गाँजाको सानो पोका, ६ थान मोबाइल फोन तथा सुर्तीजन्य पदार्थ बरामद भएका हुन्।
जिल्ला प्रहरी कार्यालय मोरङ र वडा प्रहरी कार्यालय विराटनगरको संयुक्त टोलीले बिहानदेखि सुधार गृहका विभिन्न स्थानमा जाँच गरेको थियो। जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर उमेशलाल श्रेष्ठ र वडा प्रहरी कार्यालयका इन्स्पेक्टर साजन महतराको नेतृत्वमा ४० जना प्रहरी बिहान १०ः१५ बजे सुधार गृह पुगेका थिए। करिब डेढ घण्टाभन्दा बढी समय लगाएर गरिएको खोजीमा प्रतिबन्धित सामग्री फेला परेको प्रहरीले जनाएको छ।
सुधार गृहका प्रमुख सञ्जीव न्यौपानेका अनुसार नियमित जाँचका क्रममा बालबिज्याइँकर्ताले प्रयोग गर्दै आएका मोबाइल फोन र थोरै परिमाणमा गाँजा भेटिएको हो। सुधार गृहभित्र मोबाइल प्रयोग गर्न निषेध भए पनि ती सामग्री कसरी भित्रिए भन्ने विषयमा भने स्पष्ट हुन सकेको छैन।
सुधार गृहको सुरक्षाका लागि एक जना असईको नेतृत्वमा ११ जना प्रहरी खटिएका छन्। सुरक्षाकर्मीको निगरानीका बाबजुद आफन्त वा भेटघाटका लागि आउने व्यक्तिमार्फत प्रतिबन्धित सामग्री भित्रिएको हुन सक्ने आशंका गरिएको छ।
सुधार गृहमा क्षमताभन्दा निकै बढी बालबिज्याइँकर्ता राखिनु पनि व्यवस्थापनका लागि चुनौती बनेको छ। ५० जनाको क्षमता भएको ब्लकमा हाल १९३ जना छन्। त्यस्तै, १८ वर्ष उमेर पार गरेका तथा उच्छृंखल गतिविधिमा संलग्न भएका ६२ जनालाई मोरङ कारागारभित्र छुट्टै राखिएको छ। दुवै स्थानमा गरी कुल २५५ जना बालबिज्याइँकर्ता रहेका छन्।
यसअघि पनि मोरङ कारागारभित्र रहेका बालबिज्याइँकर्तालाई भेट्न पुगेका दुई युवतीको साथबाट लागुऔषध बरामद भएको थियो। कारागारको मुख्य प्रवेशद्वारमा जाँच गर्ने क्रममा उनीहरूको साथमा लागुऔषध फेला परेको थियो।
सुधार र पुनःस्थापनाको उद्देश्यले सञ्चालन गरिएका संस्थाभित्रै पटकपटक प्रतिबन्धित सामग्री भेटिनुले सुरक्षा जाँच, निगरानी र व्यवस्थापन प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याएको छ।








