रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिकास्थित एक सिमेन्ट बोर्ड उद्योगमा काम गर्ने क्रममा मेसिनमा च्यापिएर एक मजदुरको मृत्यु भएको छ।

मृत्यु हुनेमा महोत्तरीको मनरासिसवा नगरपालिका–३ सनौल निवासी ३० वर्षीय रमेश चौधरी रहेका छन्। उनी फतुवा विजयपुर नगरपालिका–६ पेटभर्वास्थित एभरेस्ट फाइबर सिमेन्ट बोर्ड प्रालिमा कार्यरत थिए।

प्रहरीका अनुसार सोमबार बिहान करिब ११ः३० बजे उद्योगको थ्री स्टेसन मेसिनमा काम गरिरहेका बेला चौधरी मेसिनमा च्यापिएर गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि दिउँसो करिब १ बजे बाराको परवानीपुरस्थित एलएस न्युरो अस्पताल लगिएको थियो।

अस्पतालमा चिकित्सकले जाँच गर्दा दिउँसो १ बजेर ६ मिनेटमा उनलाई मृत घोषणा गरेका थिए। मृतकको शव हाल अस्पतालमै राखिएको प्रहरीले जनाएको छ।

घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय लक्ष्मिनिया विजयपुरबाट प्रहरी निरीक्षक रादेशकुमार खत्रीको नेतृत्वमा पाँच सदस्यीय टोली घटनास्थल पुगेको थियो। त्यसैगरी इलाका प्रहरी कार्यालय सन्तपुरबाट पनि चार जना प्रहरी खटिएका थिए।

प्रारम्भिक विवरणअनुसार उद्योगमा सँगै काम गर्ने सन्तोष कुमार दास उपचार प्रक्रियामा संलग्न थिए। घटनाको वास्तविक कारण र परिस्थितिबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय