सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाही र नेपालका लागि इजरायली राजदूत स्मुलीक अरिएल बासबीच कर्णालीको विकास तथा कृषि क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको शिष्टाचार भेटमा दुई देशबीचको ऐतिहासिक तथा कूटनीतिक सम्बन्धबारे चर्चा भएको थियो। भेटका क्रममा कर्णालीको समग्र विकास, आधुनिक कृषि प्रणाली र प्रविधि हस्तान्तरणका सम्भावनाबारे पनि विचारविमर्श भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता सुरेन्द्रबहादुर शाहीले जानकारी दिए।
छलफलमा इजरायलले कृषि क्षेत्रमा विकास गरेको आधुनिक प्रविधिलाई कर्णालीको भौगोलिक अवस्थाअनुसार प्रयोग गर्ने विषयले प्राथमिकता पाएको थियो। ‘सिक्दै कमाउँदै’ कार्यक्रममार्फत कर्णालीका युवालाई थप अवसर उपलब्ध गराउने र इजरायलबाट फर्किएका जनशक्तिको सीपलाई प्रदेशको कृषि रूपान्तरणमा उपयोग गर्नेबारे पनि कुराकानी भएको प्रवक्ता शाहीले बताए।
त्यसैगरी, सरकारी प्रणालीमार्फत इजरायलमा केयरगिभरका रूपमा वैदेशिक रोजगारीका अवसर विस्तार, जनस्तरको सम्बन्ध सुदृढीकरण, विपद् व्यवस्थापन तथा जलवायु परिवर्तनका असर न्यूनीकरणमा प्रविधि आदानप्रदान गर्ने सम्भावनाबारे छलफल भएको थियो।
भेटमा राजदूत बासले कर्णालीको कृषि, खानेपानी, प्रविधि हस्तान्तरण र क्षमता विकासका क्षेत्रमा इजरायल सरकार सहयोग तथा साझेदारी विस्तार गर्न सकारात्मक रहेको बताएका थिए।
मुख्यमन्त्री शाहीले कर्णालीको समृद्धि र विकासका सम्भावना उजागर गर्न इजरायलको अनुभव, दक्षता र प्रविधि उपयोगी हुने विश्वास व्यक्त गरेका थिए।








