विराटनगरमा दुई युवतीलाई प्रलोभनमा पारी बन्धक बनाएर जबर्जस्ती यौनधन्दामा लगाएको आरोप लागेका होटल सञ्चालक परवेज महमद आलम पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
मोरङ अदालतका न्यायाधीश गोकुलबहादुर निरौलाको इजलासले मंगलबार आलमलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
अदालतको आदेशपछि उनलाई मोरङ कारागार पठाइएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिएका छन् ।
यस घटनामा संलग्न रहेको आरोप लागेका अर्का प्रतिवादी रामविलास महतो भने फरार रहेका छन् । सरकारी वकिलको कार्यालयले महतोलाई फरार प्रतिवादी कायम गर्दै मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्दामा अदालतमा अभियोगपत्र दर्ता गरेको छ ।








