कैलालीमा भरुवा बन्दुक बनाउन प्रयोग हुने सामग्री र पुरानो बन्दुकसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोहन्याल गाउँपालिका–३ फल्टेबिसौनाका ६० वर्षीय लालबहादुर कामी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाका अनुसार घरमा अवैध रूपमा हातहतियार बनाउने काम भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले खानतलासी गर्दा कामीलाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरी टोलीले उनको घरबाट भरुवा बन्दुकमा प्रयोग हुने फलामका नाल दुई थान, हातहतियार बनाउन प्रयोग हुने रेती तीन थान, छिना दुई थान, कस्सा एक थान, माछाको आकारको पित्तलको प्लेट एक थान र स्क्रु दुई थान बरामद गरेको छ ।
त्यसैगरी, घरपछाडिको जमिनमुनि खाल्डोमा लुकाएर राखिएको पुरानो भरुवा बन्दुक एक थान र फलामका नाल थप छ थानसमेत फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका कामीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








