वीरगञ्जमा चाँदीबाट बनेका विभिन्न सामग्रीसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१६, नगवाका ३६ वर्षीय रामप्रकाश सर्राफ र ३९ वर्षीय कृष्ण सहनी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मंगलबार बिहान करिब १० बजे वीरगञ्ज महानगरपालिका–२५ स्थित सिर्सिया चेकपोस्टमा मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो । इलाका प्रहरी कार्यालय छपकैयाबाट खटिएको प्रहरी टोलीले जाँच गर्दा चाँदीजस्तो देखिने धातुबाट बनेका विभिन्न सामग्री फेला पारेको थियो ।
प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर मल्लका अनुसार बरामद सामग्रीमा चार थान चम्चा, एउटा सिक्री, एउटा प्लेट, गणेश–लक्ष्मीका दुई थान मूर्ति, पाँच थान माछा, तीन थान हरिण, चार थान कछुवा र एउटा गोरुको आकृति रहेका छन् ।
बरामद सामग्रीको कुल तौल ३२३ ग्राम १३० मिलिग्राम रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै जना र बरामद सामग्रीलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जानकारी दिएको छ ।








