काठमाडौं । साविक विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा आफ्नो अपराजित यात्रा कायम राखेको छ । मंगलबार भएको खेलमा लुम्बिनीले पोखरा एभेन्जर्सलाई ८ विकेटले पराजित गरेको हो ।

पोखराले दिएको ९८ रनको सामान्य लक्ष्य लुम्बिनीले ११.४ ओभरमै २ विकेट गुमाएर पूरा गर्‍यो । यस जितसँगै तीन खेलबाट पाँच अंक जोडेको लुम्बिनी अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । जारी प्रतियोगितामा लुम्बिनी हालसम्म अपराजित रहने एकमात्र टोली हो ।

लुम्बिनीको जितमा कप्तान रोहित पौडेलले उत्कृष्ट ब्याटिङ गरे । उनले ३२ बलमा तीन चौका र तीन छक्कासहित अविजित ४७ रन बनाए । त्यस्तै निरोशन डिकवेलाले २८ बलमा दुई चौका र एक छक्काको मद्दतमा अविजित २७ रन जोडे । रोहित र डिकवेलाबीच तेस्रो विकेटका लागि अविजित ७७ रनको साझेदारी भयो ।

ओपनर डार्सी सर्टले १३ र आसिफ शेखले नौ रन बनाए । पोखराका विपिन खत्रीले एक विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै ९७ रन बनाएको थियो ।

पोखराका लागि चामिका करुणारत्नेले १७ बलमा दुई छक्कासहित सर्वाधिक २५ रन बनाए । कप्तान कुशल भुर्तेलले १४, महेदी हसनले १३ र किरण ठगुन्नाले १२ रन जोडे । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

लुम्बिनीका रुबेन ट्रम्पलम्यानले चार ओभरमा १६ रन खर्चेर तीन विकेट लिए । त्यस्तै तिलक भण्डारीले २२ रन दिएर दुई विकेट हात पारे । शेर मल्ल, अभिषेक गौतम र कप्तान रोहित पौडेलले एक–एक विकेट लिए ।

यो हारसँगै पोखरा एभेन्जर्सले लगातार तेस्रो पराजय बेहोरेको छ । तीन खेलबाट अंक जोड्न नसकेको पोखरा अंकतालिकाको पुछारमा रहेको छ । जारी सिजनमा हालसम्म जितविहीन रहने टोली पनि पोखरा नै हो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय