तनहुँको भानु नगरपालिका–७, बसन्तपुरस्थित प्रसिद्ध थानीमाई मन्दिरमा आज ९१ वटा फूलको डोली चढाइएको छ । विभिन्न गाउँ तथा जिल्लाबाट भक्तजनले सजाएर ल्याएका फूलका डोली धार्मिक विधिअनुसार मन्दिरमा अर्पण गरेका हुन् ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जीवन थापाका अनुसार मङ्गलबार मात्रै नौ हजार ५०० भक्तजनले मन्दिरमा दर्शन तथा पूजाआराधना गरेका छन् । सोमबार राति ४२१ भक्तजन मन्दिरमा जाग्राम बसेर बत्ती बालेका थिए ।

थापाका अनुसार चढाइएका डोलीमध्ये तनहुँबाट ४४, लमजुङबाट ३२, गोरखाबाट १३ र काठमाडौँबाट दुई वटा रहेका छन् । डोली चढाउने क्रममा मन्दिर परिसरमा भजनकीर्तन, पूजाआराधना र अन्य धार्मिक गतिविधिसमेत भएका थिए ।

प्रत्येक वर्ष वैशाख, असोज, कात्तिक, मङ्सिर, माघ, फागुन र चैत महिनाका मङ्गलबार थानीमाई मन्दिरमा फूलको डोली चढाउने परम्परा छ । फूलको डोली चढाए मनोकामना पूरा हुने धार्मिक विश्वासका साथ विभिन्न जिल्लाबाट भक्तजन यहाँ आउने गरेका छन् ।

परम्पराअनुसार भक्तजनले फूलको डोली र पञ्चैबाजासहित नाचगान गर्दै मन्दिरको तीन पटक परिक्रमा गर्छन् । त्यसपछि मन्दिर परिसरका देवलमा डोलीसँगै ल्याइएको तोरण तीन फन्को घुमाएर बाँध्ने र मन्दिरभित्र पूजाआराधना गर्ने चलन छ । सोमबार सत्यनारायणको पूजा गरी डोली तयार पारिन्छ भने मङ्गलबार मन्दिरमा चढाइन्छ ।

समुद्री सतहबाट करिब एक हजार २०० मिटर उचाइमा रहेको यस मन्दिरबाट गोरखाको लक्ष्मी बजार, लिगलिगकोट, पालुङटार तथा लमजुङको राइनासकोटलगायत क्षेत्र र हिमशृङ्खलाको दृश्य अवलोकन गर्न सकिन्छ ।

स्थानीयका अनुसार मन्दिरमा विसं १८२५ देखि पूजाआराधना सुरु भएको हो । किंवदन्तीअनुसार त्यस वर्ष आएको हावाहुरीका बेला भोटीनी आमाछोरी मन्दिर रहेको स्थानको रुखमुनि ओत लागेका थिए । उनीहरू त्यहीँबाट अन्तर्ध्यान भएपछि उक्त स्थानमा पूजाआराधना सुरु गरिएको स्थानीयवासीको भनाइ छ ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षति पुगेको मन्दिरको पुनर्निर्माणसमेत सम्पन्न भइसकेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय