काठमाडौं । प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन बुधबारदेखि काठमाडौंमा सुरु हुँदैछ। दुई दिनसम्म चल्ने अधिवेशनमा विश्वका ३८ देशबाट करिब ३५० जना प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुने आयोजकले जनाएको छ।

अधिवेशनको तयारीबारे जानकारी दिन मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेकपा (एमाले) का उपमहासचिव लेखराज भट्टले विदेशमा रहेका नेपालीहरूले भोगिरहेका साझा समस्या र चुनौती समाधानका लागि एकीकृत प्रयास आवश्यक रहेको बताए। उनले अधिवेशनले यस विषयमा महत्त्वपूर्ण निर्णय र मार्गनिर्देशन गर्ने विश्वास व्यक्त गरे।

मञ्चका अध्यक्ष रमेश पाण्डेले अधिवेशनका लागि आवश्यक तयारी पूरा भएको जानकारी दिँदै विश्वभर रहेका प्रवासी नेपालीको सहभागितामा कार्यक्रम आयोजना गर्न लागिएको बताए।

‘श्रमिक अधिकार, वंशजको नागरिकताको सुनिश्चितता–समृद्ध नेपाल, सुखी नेपाली हाम्रो प्रतिबद्धता’ भन्ने मूल नारासहित कात्तिक १८ र १९ गते अधिवेशन सञ्चालन हुनेछ। अधिवेशनको उद्घाटन पूर्वराष्ट्रपति एवं नेकपा (एमाले) की वरिष्ठ नेतृ विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम छ भने समापन समारोहमा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नेछन्।

अध्यक्ष पाण्डेका अनुसार विश्वभर छरिएर रहेका नेपालीलाई एउटै संगठनात्मक छातामुनि आबद्ध गराउँदै उनीहरूको हक, अधिकार र पहिचानको संरक्षण गर्नु अधिवेशनको प्रमुख उद्देश्य हो। प्रवासी नेपालीको सीप, ज्ञान, अनुभव र पुँजीलाई नेपालको विकासमा उपयोग गर्ने विषयलाई पनि मञ्चले प्राथमिकता दिएको उनले बताए।

अधिवेशनमा विदेशमा रहेका नेपाली श्रमिकको अधिकार, वंशजको नागरिकताको निरन्तरता तथा संवैधानिक र राजनीतिक अधिकार सुनिश्चित गर्ने विषयमा छलफल हुनेछ। गैरआवासीय नेपाली संघलगायत प्रवासमा सक्रिय अन्य संघसंस्थासँगको सम्बन्ध र सहकार्यलाई थप प्रभावकारी बनाउने विषय पनि एजेन्डामा समेटिएको छ।

आयोजकका अनुसार मञ्चको राष्ट्रिय कमिटी विश्वका ३८ देशमा विस्तार भएको छ। पाँच महादेशमा महादेशीय कमिटी र ६० भन्दा बढी देशमा सम्पर्क सञ्जाल रहेको मञ्चको दाबी छ। संगठनमा दशौँ हजार नेपाली आबद्ध रहेको पनि आयोजकले जनाएको छ।

अधिवेशनले आगामी चार वर्षका लागि नयाँ अन्तर्राष्ट्रिय कार्यसमिति चयन गर्नेछ। नयाँ नेतृत्वले विश्वभर रहेका राष्ट्रिय कमिटीबीच समन्वय र सहकार्य बढाउँदै संगठनलाई थप व्यवस्थित र प्रभावकारी बनाउने अपेक्षा गरिएको अध्यक्ष पाण्डेले बताए।

अधिवेशनको अवसरमा विश्वव्यापी भिडियो कन्टेन्ट क्रिएसन प्रतियोगिता पनि आयोजना गरिनेछ। सूचना प्रविधिको युगमा सिर्जनात्मक तथा गुणस्तरीय सामग्री निर्माणलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा उत्कृष्ट भिडियो बनाउने एक जना सर्जकलाई ७०० अमेरिकी डलर पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय