खोटाङ । श्रम संस्कृति पार्टीले आफ्नो पहिलो वार्षिकोत्सव दुर्गम गाउँमा सामूहिक श्रमदान र सरसफाइका कार्यक्रम गरेर मनाएको छ। पार्टीले खोटाङ र ओखलढुङ्गाका विभिन्न स्थानमा श्रम, सेवा तथा सामाजिक उत्तरदायित्वका गतिविधि सञ्चालन गरेको जनाएको छ।

विपन्न तथा अशक्तका लागि घर निर्माण र बाटोघाटो सुधारमा श्रमदान गर्दै आएको पार्टीले वार्षिकोत्सवका अवसरमा ठूला समारोहभन्दा सामुदायिक कामलाई प्राथमिकता दिएको हो।

खोटाङमा पार्टीको जिल्ला कमिटीले हाडडाँडादेखि देनीथान जाने सिँढी र मन्दिर परिसरमा सरसफाइ गरेको थियो। पार्टीका स्थानीय नेता अभिषेक घिमिरेले स्थापना दिवसलाई भाषणमा मात्र सीमित नराखी श्रम, सेवा र स्वच्छतासँग जोडेर मनाइएको बताए।

त्यस्तै, ओखलढुङ्गाको खिजिदेम्बास्थित फलाटे बजार, रुम्जाटार र मानेभञ्ज्याङमा पनि श्रमदानमार्फत सरसफाइ गरिएको आयोजकले जनाएको छ। पार्टी अध्यक्ष हर्क साम्पाङले अघि सारेको ‘श्रम, प्रकृति, संस्कृति र प्रविधि’को अवधारणालाई स्थानीय तहमा विस्तार गर्ने उद्देश्यले यस्ता गतिविधि गरिएको पार्टीको भनाइ छ।

श्रम संस्कृति पार्टीका कोशी प्रदेश समितिका सहसचिव किशोर सुनुवारका अनुसार गाउँमा काठका पुल निर्माणदेखि बाटो सुधारसम्मका काममा पार्टीले नागरिकलाई समन्वय गर्दै आएको छ। उनले श्रमदान अभियानमा सहभागी सबैप्रति आभार व्यक्त गरे।

स्थानीयस्तरमा श्रमदानमार्फत गरिएका कामले समुदायका साझा समस्या समाधानमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय