काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो र पार्टीका नेताहरूको सम्पत्ति छानबिन गर्न सरकारलाई चुनौती दिएका छन्। उनले भ्रष्टाचार प्रमाणित भए आफू जुनसुकै सजाय भोग्न तयार रहेको बताएका छन्।

बुधबार राप्रपा काठमाडौं जिल्ला समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै लिङ्देनले सार्वजनिक पदमा रहेका सबै व्यक्तिको सम्पत्ति छानबिन हुनुपर्ने आफ्नो पुरानो माग दोहोर्‍याएका हुन्।

उनले संसद्मा प्रतिनिधित्व गरेदेखि नै नेताहरूको सम्पत्ति छानबिनको विषय उठाउँदै आएको उल्लेख गर्दै सबैभन्दा पहिले आफ्नै सम्पत्ति छानबिन गर्नुपर्ने धारणा राखे।

‘नेताहरूको सम्पत्ति छानबिन हुनुपर्छ भन्ने आवाज संसद्‌देखि निरन्तर उठाउँदै आएको छु। सबैभन्दा पहिले आफ्नै र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षको सम्पत्ति छानबिन गर्नुपर्छ भन्ने मेरो माग आज पनि कायम छ,’ उनले भने।

भ्रष्टाचार प्रमाणित भए आफू सजाय भोग्न मात्र नभई राजनीतिबाट सन्यास लिएर विपक्षीको घरमा भाँडा माझ्नसमेत तयार रहेको उनको दाबी थियो।

सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगको काम रोकिएको विषयलाई उनले रहस्यमय भन्दै आफूले स्वेच्छाले सम्पत्ति विवरण बुझाएको जानकारी दिए।

यसैबीच, पार्टीको आगामी महाधिवेशनबारे बोल्दै लिङ्देनले नेता तथा कार्यकर्तालाई संयमित रहन आग्रह गरेका छन्। उनले नेतृत्व चयनमा सहमति कायम गर्नुपर्ने र सहमति सम्भव नभए स्वस्थ प्रतिस्पर्धामार्फत नेतृत्व चयन गर्नुपर्ने बताए।

महाधिवेशनका क्रममा व्यक्तिगत स्वार्थका लागि एकअर्काको आलोचना गर्ने, मानमर्दन गर्ने र पार्टीको प्रतिष्ठामा आँच पुर्‍याउने गतिविधि नगर्न उनले नेतृत्वका आकाङ्क्षीहरूलाई सचेत गराए।

पार्टीको एकता, प्रतिष्ठा र हितलाई प्राथमिकतामा राखेर महाधिवेशन सम्पन्न गर्नुपर्नेमा जोड दिँदै उनले आफू भ्रष्टाचारविरुद्ध सिद्धान्त, वचन र व्यवहार तीनै पक्षबाट प्रतिबद्ध रहेको जिकिर गरे।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय