राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी र सरकारबीच कुनै पनि प्रकारको मतभेद वा विवाद नरहेको दाबी गरेका छन्।

बिहीबार चितवनस्थित आफ्नो निर्वाचन क्षेत्रमा पुगेका लामिछानेले पत्रकारहरूसँग कुरा गर्दै पार्टी र सरकारबीच निरन्तर संवाद तथा सहकार्य भइरहेको बताए। बाहिर चर्चा भएजस्तो सरकार र पार्टीबीच दूरी वा समन्वयको अभाव नरहेको उनको भनाइ छ।

लामिछानेले पुराना राजनीतिक दलहरूमा देखिने सरकारलाई नियन्त्रण गर्ने वा सरकारी कामकारबाहीमा हस्तक्षेप गर्ने अभ्यास रास्वपामा नरहेको स्पष्ट पारे। पार्टी र सरकारको कार्यक्षेत्र फरक रहेको उल्लेख गर्दै उनले सरकारले स्वतन्त्र रूपमा काम गर्नुपर्ने धारणा व्यक्त गरे।

पार्टी र मन्त्रीहरूबीच कामकारबाहीका विषयमा कुनै प्रश्न वा जिज्ञासा उठे नियमित छलफल र संवादमार्फत स्पष्ट पारिने गरेको उनले बताए।

‘हामी राजनीतिमा सरकार टिकाउन वा पार्टी मिलाउन मन्त्रीको छेउमा अर्को व्यक्ति कुर्सी राखेर बस्ने अभ्यासको पक्षमा छैनौँ। सरकारले आफ्नो पूर्ण काम गर्छ र पार्टीले आफ्नो काम गर्छ,’ उनले भने, ‘हाम्रो नियमित भेटघाट र संवाद भइरहन्छ। समन्वयको कुनै कमी छैन। सरकारलाई पूर्ण रूपमा काम गर्न दिनुपर्छ भन्ने पार्टीको स्पष्ट धारणा हो।’

सञ्चारगृह तथा पत्रकारमाथि भएका पछिल्ला प्रशासनिक कदमबारे सोधिएको प्रश्नमा लामिछानेले लोकतान्त्रिक मूल्य–मान्यता र प्रेस स्वतन्त्रताप्रति रास्वपा प्रतिबद्ध रहेको बताए।

कुनै निकाय वा व्यक्तिबाट कमजोरी भए त्यसलाई सच्याउन राज्यका वैधानिक संस्थाहरू सक्रिय हुनुपर्ने उनको भनाइ थियो। प्रहरी प्रशासन, अदालत र प्रेस काउन्सिलजस्ता निकायमाथि विश्वास गर्दै तिनलाई थप बलियो बनाउनुपर्ने उनले बताए।

‘यदि कसैले गलत गरेको छ भने त्यसलाई सच्याउने हाम्रा संस्थाहरू छन्। प्रहरी प्रशासन, अदालत र प्रेस काउन्सिलजस्ता निकायलाई विश्वास गर्नुपर्छ र थप बलियो बनाउनुपर्छ,’ उनले भने।

लामिछानेले पार्टी र सरकारबीच टकराव वा आन्तरिक द्वन्द्व रहेको भन्दै बाहिर फैलाइएका चर्चा र हल्लामा सत्यता नरहेको दोहोर्‍याए।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय