काठमाडौं । युरोपका विभिन्न देशमा यात्रुवाहक विमानमा बम राखिएको धम्की आएपछि बिहीबार केही उडानको मार्ग परिवर्तन गरिएको छ। सुरक्षा सतर्कताका कारण विमानहरूलाई निर्धारित गन्तव्यभन्दा फरक विमानस्थलमा अवतरण गराइएको हो।

आयरल्यान्डको विमान सेवा कम्पनी एर लिङ्गसको डब्लिनबाट रोमका लागि उडेको ईआई ४०२ नम्बरको विमानलाई धम्कीपछि फ्रान्सको एभ्रु विमानस्थलमा सुरक्षित अवतरण गराइएको छ। विमान कम्पनीले सुरक्षा जोखिमलाई ध्यानमा राख्दै मार्ग परिवर्तन गरिएको जनाएको छ।

त्यस्तै, बेल्जियमको ब्रसेल्सस्थित जाभेन्टेम विमानस्थलमा पोल्यान्डको एलओटी एयरलाइन्सको अर्को विमान अवतरण गरिएको छ। हेलसिन्कीबाट रोमका लागि उडेको फिनएयरको विमानलाई भने इटालीको वायुसेनाले सुरक्षा निगरानी प्रदान गरेको थियो। उक्त विमान रोममा सुरक्षित अवतरण गरेको जनाइएको छ।

बुल्गेरियामा पनि बमको धम्कीका कारण तीनवटा विमानले आकस्मिक अवतरण गरेका छन्। कोपनहेगन र म्याड्रिडबाट उडेका दुई विमान राजधानी सोफियामा तथा लन्डनबाट उडेको अर्को विमान प्लोभ्दिभ विमानस्थलमा अवतरण गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

यसअघि मंगलबार पनि युरोपमा कम्तीमा सातवटा विमान र एउटा यात्रुवाहक पानीजहाजमा बम राखिएको धम्की आएको थियो। ती घटनापछि विभिन्न विमानस्थलमा सुरक्षा जाँच र उडान सञ्चालन प्रभावित भएका थिए। तर, जाँचका क्रममा कुनै पनि विस्फोटक पदार्थ फेला परेको थिएन।

हालसम्म यी धम्कीका पछाडि कुन देश वा समूहको संलग्नता छ भन्ने पुष्टि भएको छैन। युरोपेली अधिकारीहरूले पछिल्लो समय रुस र इरानमाथि हाइब्रिड आक्रमण तथा तोडफोडका गतिविधिमा संलग्न रहेको आरोप लगाउँदै आए पनि दुवै देशले उक्त आरोप अस्वीकार गर्दै आएका छन्।

हाइब्रिड आक्रमण भन्नाले साइबर हमला, गलत सूचना प्रवाह, तोडफोडलगायत गैरपरम्परागत माध्यम प्रयोग गरी अर्को देशको सुरक्षा तथा सामाजिक व्यवस्थामा अवरोध सिर्जना गर्ने गतिविधिलाई बुझिन्छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय