काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका चार जनाको संसदीय सुनुवाइ शुक्रबार र शनिबार हुने भएको छ।
सिंहदरबारमा बिहीबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित न्यायाधीशहरूको सुनुवाइसम्बन्धी कार्यतालिका पारित गरेको हो।
समितिका अनुसार शुक्रबार उजुरीकर्तासँग छलफल गर्नुका साथै प्रस्तावित न्यायाधीशद्वय डा. रत्नबहादुर वाग्चन्द र चन्द्रबहादुर सारूको सुनुवाइ हुनेछ। त्यस्तै शनिबार जनक पाण्डे र गोकर्ण डाँगीको संसदीय सुनुवाइ गरिने समिति सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए।
सभापति श्रेष्ठका अनुसार प्रस्तावित न्यायाधीश डा. वाग्चन्दविरुद्ध पाँच, सारूविरुद्ध छ, पाण्डेविरुद्ध १० र डाँगीविरुद्ध सातवटा उजुरी परेका छन्। तीमध्ये पाँच जना उजुरीकर्ताले चारै जनाविरुद्ध उजुरी दिएको उनले बताए।
बैठकमा प्रस्तावित न्यायाधीशहरूविरुद्ध परेका उजुरी अध्ययनका लागि समिति सदस्यहरूलाई वितरण गरिएको थियो।
न्याय परिषद्को असोज २० गते बसेको बैठकले चारै जनालाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो। संसदीय सुनुवाइपछि समितिले उनीहरूको नियुक्तिबारे निर्णय गर्नेछ।








