काठमाडौं । नेपाली कांग्रेसले पार्टी र नेतृत्वको वैधानिकतामाथि भ्रम सिर्जना गर्ने प्रयास भइरहेको आरोप लगाउँदै त्यसको सशक्त प्रतिवाद गर्ने निर्णय गरेको छ।

कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइलीका अनुसार पार्टी पदाधिकारी तथा संघीय सांसदहरूसँगको बैठकले पार्टीविरुद्ध भइरहेको भनिएको षड्यन्त्रबारे संसद्, संसदीय समिति र आम नागरिकमाझ तथ्यसहित आफ्नो धारणा राख्ने निर्णय गरेको हो।

रसाइलीले राज्य संरक्षित तथा राज्य नियन्त्रित व्यक्तिहरूमार्फत कांग्रेस र पार्टी नेतृत्वविरुद्ध भ्रम फैलाउने प्रयास भएको आरोप लगाए। यस्ता गतिविधिको पार्टीले खुलेर विरोध र प्रतिरोध गर्ने उनको भनाइ छ।

उनले पार्टीको अद्यावधिक अवस्था र वैधानिकतासँग सम्बन्धित नरहेका व्यक्तिहरूलाई समेत जोडेर निर्वाचनका बेला नेतृत्वविरुद्ध भ्रम सिर्जना गर्ने काम भएको बैठकको निष्कर्ष रहेको बताए।

कांग्रेसले संसद् अधिवेशन आह्वानको माग गरिसकेको उल्लेख गर्दै रसाइलीले संसद् र संसदीय समितिमार्फत यस विषयलाई गम्भीरतापूर्वक उठाउने जानकारी दिए। राज्यले जुनसुकै प्रकारको छानबिन गर्न चाहे पनि पार्टी त्यसबाट पछि नहट्ने उनले स्पष्ट पारे।

यसैगरी, बैठकमा भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकलाई सहयोग गर्ने विषयमा पनि छलफल भएको छ। चाडपर्वको समयमा प्रभावित नागरिकलाई पार्टीका तर्फबाट सक्दो सहयोग गर्ने उद्देश्यले सम्बन्धित क्षेत्रका सांसद तथा जनप्रतिनिधिलाई पार्टी कार्यालयमा बोलाइएको रसाइलीले बताए।

उनका अनुसार यस विषयमा छलफल गर्न २० गते दिउँसो २ बजे प्रभावित क्षेत्रका सांसद तथा जनप्रतिनिधिलाई पार्टी कार्यालयमा उपस्थित हुन भनिएको छ। बैठकले बाढी प्रभावित नागरिकलाई आवश्यक सहयोग गर्ने निर्णयसमेत गरेको उनले जानकारी दिए।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय