श्रीमतीमाथि छुरा प्रहार गरी फरार भएका बाराका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा फेटा गाउँपालिका–७, जोतपुर गमरियाका २८ वर्षीय अलियास अन्सारी रहेका छन्।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार अन्सारीलाई बिहीबार दिउँसो वीरगन्ज महानगरपालिका–१६ स्थित एक होटलबाट पक्राउ गरिएको हो।
प्रहरीका अनुसार उनले मंगलबार बिहान जितपुरसिमरा उपमहानगरपालिका–२०, कञ्चनपुरस्थित ससुरालीमा रहेकी २५ वर्षीया श्रीमती गुल्सान अन्सारीलाई भेट्ने बहानामा नजिकैको आँपबारीमा बोलाएका थिए। त्यहाँ पुगेपछि उनले श्रीमतीको शरीरका विभिन्न भागमा छुरा प्रहार गरी फरार भएको प्रहरीको भनाइ छ।
घटनापछि फरार रहेका अन्सारीको खोजी गर्ने क्रममा उनलाई वीरगन्जको होटलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय सिमरामा राखिएको छ।
छुरा प्रहारबाट गम्भीर घाइते गुल्सानको वीरगन्ज हेल्थ केयर अस्पतालमा उपचार भइरहेको छ। सुरुमा आफन्तले उनलाई नारायणी अस्पताल पुर्याएका थिए। त्यहाँबाट थप उपचारका लागि वीरगन्ज हेल्थ केयर ल्याइएको र हाल आईसीयूमा राखेर उपचार भइरहेको बारा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिएका छन्।








