काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी ५ देखि ७ वर्षभित्र नेपालको अर्थतन्त्रको आकार १०० अर्ब अमेरिकी डलर पुर्याउने सरकारको लक्ष्य रहेको बताएका छन्।
नेपाल पूर्वाधार सम्मेलनको पूर्वसन्ध्यामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले उक्त अवधिमा नेपालीको प्रतिव्यक्ति आय ३ हजारदेखि ३ हजार ३०० अमेरिकी डलरसम्म पुर्याएर नेपाललाई सम्मानजनक मध्यम आय भएको मुलुक बनाउने लक्ष्य रहेको बताए।
वर्तमान सरकार सुशासनमा ‘बिग हिट’, आर्थिक सुधारमा ‘बिग ब्याङ’ र पूर्वाधार विकासमा ‘बिग पुस’ गरी तीन मुख्य प्राथमिकताका साथ अघि बढिरहेको उनले जानकारी दिए।
अर्थमन्त्री वाग्लेका अनुसार लगानी, पूर्वाधार र आर्थिक सुधारलाई गति दिन सरकारले ५९ वटा ऐनका झन्डै ५०० दफा संशोधन गर्ने तयारी गरेको छ। यसका लागि ‘अम्निबस लेजिस्लेसन’ अर्थात् एकीकृत कानुनी सुधारको प्रक्रिया अघि बढाइने उनले बताए। यो अध्यादेश वा एकीकृत ऐनका रूपमा ल्याउने तयारी रहेको उनको भनाइ छ।
प्रधानमन्त्रीको प्रत्यक्ष चासो र मन्त्रालयहरूबीचको समन्वयका कारण सुधारका कार्यक्रम कार्यान्वयन हुने सम्भावना उच्च रहेको पनि उनले दाबी गरे।
सरकारको वार्षिक २१ देखि २२ खर्ब रुपैयाँको बजेट र पूर्वाधार मन्त्रालयको २८६ अर्ब रुपैयाँको पुँजीगत बजेटले मात्रै अपेक्षित पूर्वाधार विकास सम्भव नहुने वाग्लेले बताए। करिब ७० खर्ब रुपैयाँको अर्थतन्त्रलाई थप चलायमान बनाउन निजी क्षेत्रको लगानी आकर्षित गर्नुपर्नेमा उनले जोड दिए।
ऊर्जा क्षेत्रमा निजी क्षेत्रलाई प्रवेश गराइएकै कारण विद्युत् उत्पादन २ हजार ७०० मेगावाट पुगेको उल्लेख गर्दै उनले अब बिजुली व्यापार र सडक पूर्वाधार निर्माणमा पनि निजी क्षेत्रको सहभागिता विस्तार गरिने बताए। यसका लागि ‘हाइब्रिड एन्युइटी मोडल’ र वैकल्पिक विकास वित्त कोष छिट्टै कार्यान्वयनमा ल्याउने तयारी रहेको उनले जानकारी दिए।
विश्व बैंक र एसियाली विकास बैंक (एडीबी) जस्ता विकास साझेदारबाट प्राप्त हुने सहुलियतपूर्ण ऋणको सुविधा क्रमशः साँघुरिँदै गएकाले वैकल्पिक वित्तीय स्रोत खोज्नुपर्ने आवश्यकता पनि उनले औँल्याए। ग्रिन इनर्जी बन्ड र अफसोर बन्डमार्फत पुँजी जुटाउने विकल्पमा सरकार अघि बढ्नुपर्ने उनको भनाइ थियो।
गैरआवासीय नेपालीलाई नेपालको पुँजी बजारमा सहज प्रवेश गराउन आवश्यक कानुनी सुधारसमेत भइसकेको उनले बताए।
यसैबीच, अर्थमन्त्री वाग्लेले वर्तमान सरकारले पाँच वर्षे कार्यकाल पूरा गर्ने दाबी गरेका छन्। विगतमा राजनीतिक अस्थिरताका कारण सरकारहरू लामो समय टिक्न नसकेको इतिहास उल्लेख गर्दै उनले वर्तमान सरकार स्थिर रूपमा पाँच वर्ष काम गर्ने बताए।
‘हामी सुशासन, डेलिभरी र नागरिकलाई प्रत्यक्ष छुने स्थिर सरकारका रूपमा पाँच वर्ष अविचलित काम गर्नेछौँ,’ उनले भने।
विगतमा देखिएको भ्रष्टाचार र बेथिति अन्त्य गर्दै उच्च नैतिकताका साथ काम भइरहेको दाबी गर्दै उनले आगामी निर्वाचनमा जनताले अझ ठूलो बहुमत दिएर सरकारका कामलाई अनुमोदन गर्ने विश्वास व्यक्त गरे।








