काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनमा आर्थिक चलखेल भएको भन्दै सार्वजनिक भइरहेका आरोपहरू असत्य रहेको दाबी गरेका छन्। उनले यस्ता आरोप सरकारद्वारा प्रायोजित भएको आरोपसमेत लगाएका छन्।

बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित आकस्मिक पत्रकार सम्मेलनमा बोल्दै शर्माले कांग्रेसको विशेष महाधिवेशन विधिसम्मत रूपमा सम्पन्न भएको र निर्वाचन आयोगले संविधानअनुसार पार्टीको विवरण अद्यावधिक गरिसकेको अवस्थामा नियोजित रूपमा भ्रम फैलाउन खोजिएको बताए।

‘विशेष महाधिवेशन विधिसम्मत तरिकाले भएको थियो। त्यसलाई निर्वाचन आयोगले संविधानबमोजिम अद्यावधिक गरेको हो,’ शर्माले भने, ‘तर अहिले आर्थिक चलखेल भएको भन्दै बाहिर जुन विषय ल्याइएको छ, त्यो सरकारका तर्फबाट प्रायोजित ढङ्गले ल्याइएको हो। त्यो कुनै सत्य नभएको विषय हो।’

उनले कांग्रेसको १५औँ महाधिवेशनमा सात हजारभन्दा बढी प्रतिनिधिको सहभागिता रहेको उल्लेख गर्दै महाधिवेशनबाट निर्वाचित कार्यसमिति विधि र प्रक्रियाअनुसार अघि बढिरहेको स्पष्ट पारे।

पत्रकार सम्मेलनमा शर्माले सञ्चारगृहमाथि भइरहेको दबाब र त्रासप्रति पनि आपत्ति जनाए। सञ्चारमाध्यमका कार्यालयमा गाडी तेर्स्याएर अवरोध गरिएको घटनाबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छानबिन गर्न निर्देशन दिएको प्रसङ्ग उल्लेख गर्दै उनले सरकारको कार्यशैलीमाथि प्रश्न उठाए।

सरकारले सञ्चारमाध्यममाथि अनुचित दबाब बढाएको र विपक्षी दललाई बदनाम गर्न तथ्यहीन आरोप फैलाउने प्रयास भइरहेको शर्माको आरोप थियो।

यस्ता गतिविधि तत्काल रोक्न चेतावनी दिँदै उनले सञ्चारमाध्यमको स्वतन्त्रता र राजनीतिक दलहरूको प्रतिष्ठामाथि आघात पुग्ने गतिविधि स्वीकार्य नहुने बताए।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय