काठमाडौं । नेकपा एमाले संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले इनम सापकोटाको मोबाइल प्रकरणमा सत्ताको चरम दुरुपयोग भएको आरोप लगाएकी छन् ।
बिहीबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै अर्यालले प्रहरी अनुसन्धानमा रहेको व्यक्तिको मोबाइल दुई दिनसम्म प्रधानमन्त्रीका सल्लाहकारको निजी निवासमा राखिनु गम्भीर विषय भएको बताइन् ।
उनले मोबाइलमा रहेका सन्देश मेटाइएको र स्क्यान गरिएको भन्ने विषयले अनुसन्धानका प्रमाण नष्ट हुन सक्ने आशंका उत्पन्न गरेको उल्लेख गरिन् ।
सुशासनको नारा दिएर सत्तामा आएको सरकारले यस प्रकरणमा कानुनी र नैतिक रूपमा जवाफ दिनुपर्ने उनको भनाइ छ ।
‘यस विषयमा जोडिएका व्यक्तिहरूमाथि छानबिन हुनुपर्छ,’ अर्यालले भनिन् ।
नेपाल प्रहरी कुनै राजनीतिक दल वा व्यक्तिको निजी संस्था नभई राज्यको व्यावसायिक र स्वतन्त्र निकाय भएको उल्लेख गर्दै उनले प्रहरी अनुसन्धानमा हुने राजनीतिक हस्तक्षेपले समग्र शान्ति-सुरक्षामा असर पार्न सक्ने बताइन् ।
उनले वर्तमान सरकार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नेतृत्वमा रहेकाले सरकारका गतिविधिको राजनीतिक तथा नैतिक जिम्मेवारी पनि रास्वपाले लिनुपर्ने तर्क गरिन् ।








