काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आधिकारिकता प्राप्त गर्ने राजनीतिक तथा कानुनी प्रक्रियामा कुनै पनि आर्थिक लेनदेन वा अनुचित गतिविधि नभएको दाबी गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै थापाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा १८ करोड रुपैयाँको लेनदेन भएको भन्ने चर्चाको खण्डन गरेका हुन् ।
‘१८ करोडको कुरा गर्छन्, पार्टीको आधिकारिकतासम्बन्धी राजनीतिक र कानुनी लडाइँमा रुपैयाँको होइन, एक सुक्काको पनि कुनै लेनदेन र अनुचित काम गरेको छैन,’ उनले भनेका छन् ।
इनम सापकोटासँग जोडिएर सार्वजनिक भएको अडियो प्रकरणबारे आफूले सार्वजनिक रूपमा जवाफ दिँदै हिँड्नुपर्ने अवस्था नरहेको उनको भनाइ छ ।
‘प्रश्न हामीलाई सोध्ने होइन, इनम सापकोटा प्रहरी हिरासतमा छन्, त्यहाँ सोध्ने हो,’ थापाले भनेका छन्, ‘अनुसन्धान भएपछि दूधको दूध, पानीको पानी छुट्टिन्छ । हामी त्यसैको प्रतीक्षामा छौँ ।’
थापाले आफू कुनै पनि विषयमा डराउनुपर्ने अवस्थामा नरहेको उल्लेख गर्दै आफ्नो नैतिक धरातल कमजोर नभएको दाबी गरेका छन् ।
आफ्ना हात सफा रहेको र मनमा कुनै दाग नरहेको भन्दै उनले पार्टीका नेता, कार्यकर्ता तथा शुभचिन्तकहरूलाई आफ्नो नैतिकतामाथि विश्वास गर्नसमेत आग्रह गरेका छन् ।








