काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाइएका दानबहादुर कार्कीले सरकारको निर्णयविरुद्ध दिएको रिट सर्वोच्च अदालतमा दर्ता हुन सकेन ।
बुधबार सरकारले आफूलाई आईजीपी पदबाट हटाएर डा. मनोजकुमार केसीलाई नयाँ प्रहरी प्रमुख नियुक्त गर्ने निर्णय गरेपछि कार्की उक्त निर्णय बदरको माग गर्दै रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेका थिए ।
तर, सर्वोच्च अदालत प्रशासनले रिटको अध्ययन गर्न समय लाग्ने भन्दै बिहीबार दर्ता नगरेको हो ।
कार्कीनिकट अधिवक्ता टीकाबहादुर कुँवरका अनुसार सर्वोच्च प्रशासनले रिट अध्ययनका लागि समय आवश्यक रहेको जानकारी दिएको छ ।
मन्त्रिपरिषद्को निर्णयअनुसार डा. मनोजकुमार केसीले बुधबारदेखि नै नेपाल प्रहरीको महानिरीक्षकको जिम्मेवारी सम्हालिसकेका छन् ।
कार्कीको रिट शुक्रबार दर्ता भएमा पनि तिहार बिदाका कारण प्रारम्भिक सुनुवाइ भने बिदापछि मात्रै हुने सम्भावना रहेको छ ।








