काठमाडौं । गत दशैंको छेकोमा प्रदर्शनमा आएको चलचित्र ‘छ माया छपक्कै २’ बक्स अफिसमा फ्लप भएपछि निर्माता रोहित अधिकारी र मुख्य अभिनेता दीपकराज गिरीबीच विवाद चर्किएको छ । अधिकारीले नेपाल प्रेसमा दिएको अभिव्यक्तिप्रति गिरीले आपत्ति जनाएका छन् ।

चलचित्रका एकल निर्माता अधिकारीले ‘छ माया छपक्कै २’ मा ३ करोड ४० लाख लगानी गर्दा डेढ करोड घाटा खाएको नेपाल प्रेसलाई बताएका थिए । उनले गिरीप्रति विभिन्न विषयमा असन्तुष्टिसमेत पोखेका छन् । गिरीले आफूखुसी स्क्रिप्टमा छेडछाड गरेको, सेन्सर पासअघि आफूलाई चलचित्र हेर्नसमेत नदिइएको, ओभरसिज राइट्स आफूखुसी विक्री गरेको, चलचित्रमा आफूलाई थाहा नदिई ठूला दुई कम्पनीका विज्ञापन समावेश गरेको लगायत आरोपहरू उनले लगाएका थिए ।

अभिनेता गिरीले भने यसलाई अनावश्यक मिडियाबाजीको संज्ञा दिएका छन् । अधिकारीले नै सबैभन्दा पहिले सम्झौता नै उल्लंघन गरेको उनको आरोप छ ।

गिरीले नेपाल प्रेससँग भने, ‘मलाई मिडियाबाजी गर्नु छैन । जे बोल्छ, सबै कुरा कागजले बोल्छ । असन्तुष्टि भए कानुनी प्रक्रियामा जाने हो, मिडियाबाजी गर्नुको कुनै तुक छैन ।’

दुई पक्षबीच भएको सम्झौताको १२ नम्बर बुँदा निर्माता अधिकारीले उल्लंघन गरेको गिरीको आरोप छ । सम्झौताको १२ नम्बर बुँदामा ‘गोपनीयता’ उपशीर्षक दिएर भनिएको छ, ‘यस करारसँग सम्बन्धित आर्थिक, व्यापारिक, प्राविधिक वा सृजनात्मक जानकारी दुवै पक्षले तेस्रो पक्षलाई आपसी लिखित सहमतिबिना खुलासा गर्न पाउने छैन ।’

यदि थप मिडियाबाजी गरेमा आफ्नो टिम मानहानिको मुद्दा लिएर कानुनी प्रक्रियामा समेत जाने तयारीबारे छलफल गरिरहेको गिरीले बताए । सबै कुरा सम्झौताको १२ नम्बर बुँदा र अन्य कागजातले बोलिसकेकाले आफूले थप धारणा नराख्ने उनको भनाइ छ ।

गिरीनिकट एक कानुनी व्यवसायी निर्माता अधिकारीमाथि मानहानि र बैंकिङ कसुरअन्तर्गत चेक बाउन्सको मुद्दा समेत लाग्न सक्ने बताउँछन् ।

ती कानुन व्यवसायीले भने, ‘उहाँका दुईवटा चेक हामीसँगै छन् । मानहानि मात्र होइन, अन्य मुद्दाहरू पनि आकर्षित हुनसक्ने देखिन्छ ।’

ओभरसिज राइट्सको उठ्न बाँकी पैसा गिरीले दिनु नपर्ने ती कानून व्यवसायीले बताए । विदेशबाट पैसा आएर गिरीले आफूसँगै राखेको भए मात्र अधिकारीलाई तिर्नुपर्ने उनको भनाइ छ ।

‘चलचित्र फ्लप भएपछि ओभरसिजका वितरकहरूले लिन मानेनन् । चलचित्रबाट हात उठाएपछि कसरी पैसा आउँछ र ?’ ती कानुन व्यवसायीले भने, ‘पैसा ल्याएर आफूसँग राखेको भए पो तिर्नुपर्थ्यो !’

‘छ माया छपक्कै २’ले अहिलेसम्म साढे तीन करोड जति मात्र ग्रस कलेक्सन गरेको छ । यस कलेक्सनबाट निर्माता अधिकारीको हातमा एक करोड १५ लाख जति आउने देखिन्छ । ओभरसिजबाट ६५ लाख जति आएको अधिकारीले बताए ।

चलचित्रको डिजिटल राइटस् पूर्वसहमतिअनुसार गिरीले पाएका छन् । चलचित्र असफल भएपछि सबै जिम्मेवारी आफूले एक्लै लिने गिरीले बताएका थिए । उनले ‘छ माया छपक्कै ३’ को घोषणा गरिसकेका छन् । चलचित्रको कपिराइट दीपकराजसँग भएकाले सिक्वेल पनि उनले नै बनाउने अधिकार पाएका हुन् । निर्माता अधिकारी पनि ‘छ माया छपक्कै २’का निर्देशक दीपेन्द्र लामासँग मिलेर अर्को चलचित्रको तयारीमा लागिसकेका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय