सर्लाही । सशस्त्र प्रहरी बलले सर्लाहीमा मोटरसाइकलको पेट्रोल ट्याङ्कीभित्र लुकाएर ल्याइएको १२९ बोतल प्रतिबन्धित लागुऔषध कोरेक्स बरामद गरेको छ ।
ब्रह्मपुरी गाउँपालिका–४ स्थित त्रिभुवननगरमा सहायक सीमा स्तम्भ नम्बर ३२४/३ नजिक दशगजा क्षेत्रमा खटिएको सशस्त्र प्रहरीको गस्ती टोलीले उक्त लागुऔषध बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल, बीओपी त्रिभुवननगरबाट सशस्त्र प्रहरी नायब निरीक्षक बलदेव राज पाण्डेको नेतृत्वमा खटिएको चार सदस्यीय टोलीले शुक्रबार दिउँसो भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ०१ एफभी ३३३१ नम्बरको मोटरसाइकललाई रोक्ने प्रयास गरेको थियो ।
प्रहरी टोलीलाई देखेपछि चालकले मोटरसाइकल खोला किनारमा छाडेर भारततर्फ फरार भएका थिए । त्यसपछि मोटरसाइकल नियन्त्रणमा लिएर जाँच गर्दा पेट्रोल ट्याङ्कीभित्र लुकाइएका १०० एमएलका १२९ बोतल कोरेक्स फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।
बरामद मोटरसाइकल र लागुऔषध आवश्यक कानुनी कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरी उपरीक्षक अमरबहादुर खत्रीले जानकारी दिए ।








