काठमाडौं । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ स्थित जिरो ड्याममा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १७ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार शुक्रबार राति करिब ११ः५० बजे प्रशान्त शाहीको घरमा जुवातास खेलिरहेको गोप्य सूचना प्राप्त भएपछि संयुक्त प्रहरी टोलीले छापा मारेको थियो ।

कर्णाली प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय सुर्खेत र कर्णाली प्रदेश प्रहरी गणबाट खटिएको ४५ जनाको प्रहरी टोलीले घरमा खानतलासी गर्दा उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीले घटनास्थलबाट २८ बुक तास, लङ्गुरबुर्जा खेल्न प्रयोग हुने ६ वटा गोटी र नगद १ लाख ५ हजार ६ सय ७० रुपैयाँ बरामद गरेको जनाएको छ । बरामद तासमध्ये २४ बुक नखुलेको र चार बुक खुलेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा अछामको तुर्माखाँद गाउँपालिका–१ का पवन रावल, टोपेन्द्र थापा र कुलबहादुर रावल, बर्दियाको बारबर्दिया नगरपालिका–६ का नरेश लामिछाने तथा दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–९ का रामबहादुर साउद र पदम सार्की रहेका छन् ।

त्यस्तै, दैलेखकै चामुण्डा बिन्द्रासैनी नगरपालिका–४ का ज्ञानेन्द्र शाही, वडा नम्बर ७ का दीपेन्द्र शाही, ठाटीकाँध गाउँपालिका–५ का हिमाल शाही, राजकुमार शाही, प्रकाश शाही, पर्ज कठायत र भरत शाही पनि पक्राउ परेका छन् ।

यसैगरी, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–५ का कुलबहादुर सुनार तथा वडा नम्बर ३ का लक्ष्मी शाही र उपेन्द्र बोहोरा पक्राउ परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सबैलाई शनिबार बिहान २ः३० बजे जिल्ला प्रहरी कार्यालय सुर्खेत ल्याइएको थियो । उनीहरूमाथि जुवाताससम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) जयराज सापकोटाले चाडपर्वलाई लक्षित गरी प्रदेशभर प्रहरी परिचालन बढाइएको बताए । उनले जुवातासलगायत गैरकानुनी गतिविधिमाथि निगरानी कडा पारिएको र संलग्न व्यक्तिविरुद्ध कारबाही अघि बढाइने जानकारी दिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय