सिन्धुली । हरिहरपुरगढी गाउँपालिका–३, गुर्जीस्थित मदन भण्डारी लोकमार्गमा अटो दुर्घटना हुँदा सात जना घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
झनझनेबाट मकवानपुरको झुरझुरेतर्फ जाँदै गरेको लुप्र०१–००१ स ८१४० नम्बरको अटो बिहीबार दिउँसो करिब १ः३० बजे अनियन्त्रित भई सडकबाट १५ देखि २० मिटर तल खेतमा खसेको थियो ।
दुर्घटनामा अटो चालक मकवानपुरको बागमती गाउँपालिका–१ निवासी ४० वर्षीय गंगा घिसिङ मध्यम घाइते भएका छन् ।
त्यस्तै, पहिचान नखुलेकी ३३ वर्षीया गर्भवती महिला, १९ वर्षीया कान्छीमाया पहरी, उनकी तीन वर्षीया छोरी समिक्षा पहरी, नौ वर्षीय प्रवास पहरी, सात वर्षीया स्वस्तिका पहरी र सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१, ककरेकी ६० वर्षीया पातलीमाया भोलन गम्भीर घाइते भएका छन् ।
सबै घाइतेलाई उपचारका लागि मकवानपुर पठाइएको छ । दुर्घटनाको जानकारी पाएपछि प्रहरी चौकी हरिहरपुरगढीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।
दुर्घटनामा परेको अटो घटनास्थलमै रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








