काठमाडौं । सन् २०२७ मा आयोजना हुने एकदिवसीय क्रिकेट विश्वकपको छनोटअन्तर्गत क्वालिफायर प्लेअफ प्रतियोगिता नेपालमा हुने भएको छ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अनुसार प्रतियोगिता आगामी डिसेम्बर ४ देखि २१ सम्म सञ्चालन हुनेछ। प्रतियोगितामा नेपालसहित आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्।

नेपालसँगै इटाली, नामिबिया, युगान्डा, क्यानडा, कुवेत, जर्सी र संयुक्त अरब इमिरेट्स (यूएई) प्रतियोगितामा सहभागी हुनेछन्।

प्रतियोगिताका खेलहरू कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र माथिल्लो मुलपानी क्रिकेट मैदानमा सञ्चालन हुनेछन्। आठ टोलीबीचको प्रतिस्पर्धाबाट शीर्ष चार टोलीले सन् २०२७ को विश्वकप ग्लोबल क्वालिफायरमा स्थान बनाउनेछन्।

यसअघि नै वेस्ट इन्डिज, आयरल्यान्ड, अमेरिका, स्कटल्यान्ड, नेदरल्यान्ड्स र ओमानले ग्लोबल क्वालिफायरमा स्थान सुरक्षित गरिसकेका छन्।

वेस्ट इन्डिज र आयरल्यान्डले उच्च वरीयताका आधारमा तथा अमेरिका, स्कटल्यान्ड, नेदरल्यान्ड्स र ओमानले क्रिकेट विश्वकप लिग–२ को शीर्ष चारमा रहँदै छनोट भएका हुन्।

नेपालमा हुने प्लेअफबाट छनोट हुने चार टोलीसहित १० टोलीले ग्लोबल क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछन्। उक्त प्रतियोगिताबाट सन् २०२७ मा दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियामा आयोजना हुने एकदिवसीय विश्वकपका बाँकी स्थानका लागि प्रतिस्पर्धा हुनेछ।

नेपालले घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै विश्वकप छनोटको आगामी चरणमा स्थान बनाउने लक्ष्य राखेको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय