काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारमा सामान्य सुधार देखिएको छ। नेप्से परिसूचक २.६४ अंकले बढेर २ हजार ६५५ अंकमा पुगेको छ।
शुक्रबार कारोबार भएका कम्पनीमध्ये १५८ वटाको सेयर मूल्य बढेको छ भने १०७ वटाको घटेको छ। त्यस्तै, १४ कम्पनीको मूल्य स्थिर रहेको छ।
दिनभर बजारमा उतारचढाव न्यून देखिएको थियो। दिउँसो १ बजेर ७ मिनेटमा नेप्से परिसूचक अधिकतम २ हजार ६६१ अंकसम्म पुगेको थियो।
बजारमा सामान्य वृद्धि भए पनि कारोबार रकम भने घटेको छ। अघिल्लो दिन ४ अर्ब ७२ करोड रुपैयाँको कारोबार भएकोमा शुक्रबार ३ अर्ब ४६ करोड रुपैयाँमा सीमित भएको छ।
समूहगत परिसूचकतर्फ ‘अन्य’ समूहबाहेक सबै समूहमा वृद्धि भएको छ। अन्य समूह ०.८८ प्रतिशतले घट्दा बैंकिङ ०.०९, विकास बैंक ०.२६, फाइनान्स ०.०३, होटल तथा पर्यटन ०.०४, जलविद्युत् ०.२५ र लगानी समूह ०.२३ प्रतिशतले बढेका छन्।
त्यस्तै, जीवन बीमा ०.३५, उत्पादन तथा प्रशोधन ०.१०, माइक्रोफाइनान्स ०.०८, निर्जीवन बीमा ०.६५ र व्यापार समूह ०.०८ प्रतिशतले बढेका छन्।
शुक्रबार क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको सेयर मूल्य सबैभन्दा धेरै १४.०८ प्रतिशतले बढेको छ। बेनी हाइड्रोपावरको ५.७८, राष्ट्रिय बीमा कम्पनीको ३.४२, चिरख्वा हाइड्रोपावरको ३.१८ र माउन्ट एभरेस्ट पावरको २.९० प्रतिशतले मूल्य वृद्धि भएको छ।
यता, घोराही सिमेन्टको सेयर मूल्य सबैभन्दा धेरै ४.४३ प्रतिशतले घटेको छ। नेपाल पुनर्बीमाको ३.७०, कालिन्चोक दर्शनको २.७० र गुराँस लघुवित्तको २.६४ प्रतिशतले मूल्य घटेको छ।
कारोबार रकमका आधारमा घोराही सिमेन्ट, श्वेतगंगा हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, घलेम्दी हाइड्रोपावर, सानिमा माई हाइड्रोपावर र शिवम् सिमेन्ट अगाडि रहेका छन्।








