काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीले पैसा तिरेर वैधानिकता प्राप्त गरेको भन्ने प्रचार निराधार र राजनीतिक पूर्वाग्रहबाट प्रेरित रहेको बताएका छन्।

कांग्रेस क्षेत्रीय कार्यसमिति, चितवन क्षेत्र नम्बर १ ले शुक्रबार रत्ननगरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले पार्टीको वैधानिकतामाथि प्रश्न उठाउने उद्देश्यले नियोजित रूपमा भ्रम फैलाइएको आरोप लगाए।

‘नेपाली कांग्रेसले पैसा तिरेर वैधानिकता लियो भनिएको छ। कुनै एउटा पात्र खडा गरेर कपोकल्पित कुरा प्रचारमा ल्याइएको छ,’ पौडेलले भने।

कांग्रेसले त्यसरी पैसा तिरेर वैधानिकता लिएको भए अहिले सत्ताविरुद्ध सशक्त रूपमा आवाज उठाउन नसक्ने उनको तर्क थियो। उनले सत्ताको ज्यादतीविरुद्ध कांग्रेसले निरन्तर प्रश्न उठाउँदै आएको र सभापति गगन थापाले त्यसको नेतृत्व गरिरहेको दाबी गरे।

‘यो देशमा सत्ताको ज्यादतीविरुद्ध कोही बोलेको छ भने त्यो नेपाली कांग्रेस बोलेको छ, गगन थापा बोलेका छन्,’ उनले भने।

आगामी स्थानीय तहको निर्वाचनमा कांग्रेससँग सत्तापक्ष डराएको संकेत गर्दै पार्टीको वैधानिकताबारे भ्रम फैलाउने काम भइरहेको पौडेलको आरोप थियो। कांग्रेसले कुनै गलत काम गरेको भए सरकारले त्यसलाई राजनीतिक रूपमा उठाउने अवसर नछाड्ने उनको भनाइ थियो।

प्रहरी हिरासतमा रहेका इनम सापकोटाको बयान भनिएको अडियोबारे पनि उनले प्रश्न उठाए। उक्त अडियोमा लगाइएका आरोप सत्य भए सरकारले प्रहरीलाई तत्काल अनुसन्धान अघि बढाउन र बयानका आधारमा कानुनी प्रक्रिया अगाडि बढाउन निर्देशन दिने उनको तर्क थियो।

तर, अडियोको विषयमा प्रहरीलाई आधिकारिक धारणा सार्वजनिक नगर्न लगाइएको र घटनालाई अन्योलमा राखिएको पौडेलले आरोप लगाए।

‘त्यो कुरा सत्य थियो भने प्रहरीलाई छिटोछिटो बयान लिएर अदालत लैजाऊ भनेर सत्ताले भन्थ्यो,’ उनले भने।

राज्यका विभिन्न संरचनामाथि सत्ताको नियन्त्रण रहेको दाबी गर्दै पौडेलले कांग्रेसविरुद्ध लगाइएका आरोप पुष्टि गर्ने प्रमाण भए सरकारले अहिलेसम्म अनुसन्धान अघि बढाइसक्ने जिकिर गरे। ‘प्रमाण हुन्थ्यो भने यति दिन पर्खन्थ्यो ?’ उनले प्रश्न गरे।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय