काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आगामी प्रदेश निर्वाचनसम्म पार्टी मधेश प्रदेश सरकारमा सहभागी नहुने स्पष्ट पारेका छन्। उनले पार्टीको निर्णयविपरीत सरकारमा सहभागी हुने सांसदलाई राजीनामा दिन वा पार्टी छाड्न चुनौतीसमेत दिएका छन्।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै राउतले मुख्यमन्त्री वा मन्त्री पदको प्रस्ताव आए पनि जनमत पार्टी सरकारमा सहभागी नहुने बताएका हुन्।

उनका अनुसार निर्वाचन आउन अब ६–७ महिना मात्रै बाँकी रहेकाले सत्ता र मन्त्रालयको भागबन्डामा अल्झिनुभन्दा जनताको बीचमा पुगेर अधिकारका लागि संघर्ष गर्नुपर्ने समय आएको छ।

‘अहिले सरकार बनाउने होइन, संगठन निर्माण गर्ने समय हो,’ राउतको भनाइ छ। उनले सत्ता र पदको लोभमा लाग्नु आत्मघाती कदम हुने टिप्पणी गरेका छन्।

विगतमा सत्ता र पदप्रतिको मोहले राजनीतिक आन्दोलन कमजोर बनेको उल्लेख गर्दै उनले दुई–चार वटा मन्त्रालय लिएर सरकारमा सहभागी हुने प्रयास जनताको चाहना र अग्रगामी मोर्चाको मर्मविपरीत हुने बताएका छन्।

राउतले मधेश केन्द्रित दलहरूलाई विभाजन र विलयमार्फत कमजोर बनाउने प्रयास भइरहेको आरोपसमेत लगाएका छन्। त्यस्ता राजनीतिक चलखेलमा पुनः फस्न नहुने उनको भनाइ छ।

लुम्बिनी प्रदेशमा मधेश केन्द्रित दलहरूलाई छिन्नभिन्न पारिएको प्रसंग उल्लेख गर्दै उनले मधेशी दल र नेताहरूलाई बदनाम गर्ने तथा उनीहरूको राजनीतिक शक्ति कमजोर बनाउने प्रयासप्रति सचेत रहन आग्रह गरेका छन्।

अग्रगामी मोर्चाले पनि यस विषयमा कडा निर्णय गरेको स्मरण गराउँदै राउतले मोर्चा आफ्नो निर्णयमा कायम रहेको विश्वास व्यक्त गरेका छन्।

पछिल्लो समय जनमत पार्टी सरकारमा सहभागी हुने विषयमा बाहिर आएका चर्चाहरू केवल मिडिया ट्रायल मात्र होऊन् भन्ने आफ्नो अपेक्षा रहेको पनि उनले बताएका छन्।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय