जनकपुरधाम । मधेस प्रदेश सरकारमा सहभागी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का चार मन्त्रीले शुक्रबार सामूहिक राजीनामा दिएका छन् ।
राजीनामा दिनेमा अर्थमन्त्री युवराज भट्टराई, उद्योग तथा पर्यटनमन्त्री कनिष पटेल, गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतो र ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री जवाहरलाल कुशवाहा रहेका छन् ।
नेकपाका नेता कुशवाहाले प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णसमक्ष सरकारलाई दिएको समर्थन फिर्ता लिँदै चारै जना मन्त्रीको राजीनामापत्र बुझाएका हुन् ।
यसअघि गत असोज ३० गते नेकपा एमालेबाट मधेस प्रदेश सरकारमा सहभागी मन्त्रीहरूले पनि पदबाट राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए ।
दुवै दलले समर्थन फिर्ता लिएसँगै मधेस प्रदेश सरकारको राजनीतिक समीकरण थप जटिल बनेको छ । प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूबीच छलफल र कसरत सुरु भएको छ ।








